गाेरखकालीका विद्यार्थीद्वारा निशुल्क कपडा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाेरखकालीका विद्यार्थीद्वारा निशुल्क कपडा वितरण

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७९, बुधबार

    दमाैली । व्यास नगरपालिका–३ स्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयमा रहेको इन्टरर्याक्ट क्लव अफ जिकेबिएस व्यासभूमिको आयोजनामा दशैंको अवसर पारेर विपन्नलाई निःशुल्क कपडा वितरण गरिएको छ । विपन्न तथा असहायलाई सहयोग गर्ने उद्देश्यसहित निःशुल्क रुपमा कपडा वितरण गरिएको क्लवकी अध्यक्ष दिलसा श्रेष्ठले जानकारी दिइन्।

    आजसम्म चल्ने कार्यक्रमको पहिलो दिन मङ्गलबार ६१ जनालाई कपडा वितरण गरिएको छ । क्लवमा आबद्ध कक्षा ८, ९ र १० का विद्यार्थीले खाजा खर्च जोगाएर सङ्कलन गरेको रकमबाट कपडा खरिद गरी वितरण गरिएको विद्यालयकी प्रिन्सिपल विणा कैनीले जानकारी दिइन्।

    निःशुल्क कपडा वितरणका लागि पचास प्रतिशतभन्दा बढी कपडा नयाँ खरिद गरिएको हो भने आधा कपडा पुनः प्रयोग गर्न मिल्ने खालको रहेको छ । “कपडा खरिद गर्ने, पुनः प्रयोग गरिएका कपडा सङ्कलन गर्नेदेखि लिएर ल्याएका कपडामा आइरन लगाउने, पट्याउने सबै काम विद्यार्थीले नै गरेका हुन्,” कैनीले भनिन्, “कपडा खरिदका लागि केही रकम विद्यालयले पनि सहयोग गरेको छ ।”

    अध्ययनसँगै सिकाईलाई पनि जोडेर अगाडी बढाउने उद्देश्यका साथ यो कार्यक्रम गरिएको उनले बताइन् ।

    विद्यालयले अध्ययनका साथसाथै विद्यार्थीलाई सिकाईमा पनि जोड्दै लगेको छ । गत असारमा विद्यालयले विद्यार्थीलाई धानखेतमा पुगेर रोपाइँ गर्ने तरिकाबारे सिकाएको थियो । विद्यालयले अध्ययनसँगै प्रयोगात्मक शिक्षामा जोड दिएको सहायक प्रिन्सिपल तीर्थ रानाभाटले जानकारी दिए । “पढाईका साथसाथै प्रयोगात्मक ज्ञानबारे सिकाउन विद्यार्थीलाई विभिन्न कार्यक्रममा सहभागी गराउँदै आएका छौ,” उनले भने ।