दमौली । तनहुँको भानु नगरपालिका–९ काउरेटारबाट सालको अवैध काठ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–८ बस्ने ४० वर्षीय थमन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
देउरालीटारबाट बाइसजाँगरतर्फ आउँदै गरेको ग १ त ४२०२ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको काठ बरामद गरी ट्याक्टर चालक नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
त्रिपालले छोपेर ल्याउँदै गरेको २१ गोलिया ५३.८८ क्युफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका नेपाली र बरामद गरिएको काठ र ट्याक्टरलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा पठाइएको छ ।