दमाैली । प्रेमगीत–३ का नायक प्रदीप खड्काले दर्शकको साथले आफूहरुलाई उत्साहित बनाएको बताएका छन् । दमौलीस्थित एपेक्स मलको क्युएफएक्समा बुधबार साँझ दर्शकसँगै बसेर चलचित्र हेरेका खड्काले प्रेमगीत–३ हेर्न देशभरका हलहरुमा बढेको भीडले आफूहरुलाई उत्साहित र खुसी तुल्याएको बताए ।
चलचित्र हेरिसकेपछि पत्रकारहरुसँग कुराकानी गर्दै खड्काले भने, “दर्शकबाट एकदमै माया पाएका छौ, चलचित्र हलभित्र छिर्दा पनि दर्शकको साथ राम्रो छ ।” खड्काले प्रेमगीत–३ ले नेपाली चलचित्रलाई विश्वमाझ उभ्याउन सफल भएको बताए ।
चलचित्रका निर्माता सन्तोष सेनले देश तथा विदेशमा एकैसाथ चलचित्र चलिरहेको र चलचित्रले प्राप्त गरेको सफलताले खुसीको सीमा नै नरहेको बताए ।
नायिका क्रिष्टिना गुरुङले मनाङ जस्तो चिसो ठाउँमा छायाङ्कन गर्दा भएको गाह्रो अहिलेको सफलताले बिर्साएको बताइन् । “कठ्याङ्ग्रिदो जाडोको बेला छायाङ्कन गरिएको थियो । त्यो बेला धेरै बिरामी परेका थियौ तर चलचित्रको छायाङ्कन निरन्तर चलिरह्यो । तर अहिले चलचित्रले पाएको सफलताले त्यो बेलाको दुःख बिर्साएको छ ।” उनले यति धेरै दर्शकको साथ पाउँछु भनेर नसोचेको बताइन् ।
चलचित्रका निर्माता र कलाकारलाई क्युएफएक्सका प्रबन्धक उज्ज्वल भट्टराईले खादा लगाएर स्वागत गरेका थिए ।
शुक्रबारदेखि प्रदर्शनमा आएकाे चलचित्रले दमाैलीमा पनि राम्राे व्यापार गरिरहेकाे छ । हरेक दिन चलिचत्र हेर्न दर्शककाे भीड रहेकाे छ ।
तस्वीरहरु : सुमन श्रेष्ठ