दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यसहित आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट चार हजार आठ सय ३९ ले स्वास्थ्य सेवा पाएका छन् ।
म्याग्दे गाउँपालिका–१ बाट सुरु भएको एकीकृत घुम्ती शिविरको सातौ दिनसम्म उक्त सङ्ख्यामा स्वास्थ्य सेवाबाट लाभान्वित भएका हुन् ।
स्वास्थ्य सेवा अन्र्तगतको ओपिडी सेवामा एक हजार पाँच सय ५८ जनाले सेवा लिएका छन् । दुई सय ४१ को उच्च रक्तचाप, ७३ जनाको सिओपिडी, एक सय एक जनाको मधुमेहको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए।
प्रयोगशाला सेवा अन्तर्गत एक हजार चार सय ४१ जनाको मधुमेह, ५१ जनाको क्षयरोग, नौ जनाको औलो रोग परीक्षण गरिएको छ ।
पाठेघर परीक्षण अन्तर्गत छ सय १६ जना लाभान्वित भएका छन् । भिएल परीक्षण गर्दा २० जनामा पोजिटिभ देखिएको र पाँच सय ९६ मा भिएल ए नेगेटिभ देखिएको छ ।
घुम्ती शिविरको अवसरमा चार सय ६७ लाई कोभिड खोप प्रदान गरिएको छ । छ सय ३१ लाई आर्युर्वेद सेवा र ५४ जनालाई बालस्वास्थ्य सेवा प्रदान गरिएको छ । मधुमेह परीक्षण गरिएकामध्ये एक सय र भिएल ए पोजिटिभ देखिएका २० जनालाई सम्बन्धित अस्पतालमा रिफर गरिएको जनाइएको छ ।
शिविरको क्रममा छ सय १२ कृषक लाभान्वित भएका छन् । शिविरमा २६ वटा पशुको बन्ध्याकरण गरिएको छ । शिविरमा गोबर परीक्षणबाट ७९ कृषक लाभान्वित भएका छन् ।
घुम्ती शिविरबाट विषयगत शाखा अन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य÷आर्युर्वेद शाखा अन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिड विरुद्धको खोप प्रदान गरिएको छ ।
कृषि शाखा अन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फर्म दर्ता सम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदान सम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखा अन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखा अन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिएको छ ।
पञ्जीकरण शाखा अन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी सेवा, महिला तथा बालबालिका शाखा अन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखा अन्तर्गत निःशुल्क घर नम्बर प्लेट वितरण गरिएको छ ।
एकीकृत घुम्ती शिविर हालसम्म वडा नम्बर १, २, ३ र ४ मा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। असोज १३ र १४ गते वडा नम्बर ५ मा शिविर सञ्चालन हुनेछ । दोस्रो चरणको शिविर असोज २७ र २८ गते वडा नम्बर ६ मा र असोज ३० र ३१ गते वडा नम्बर ७ मा सञ्चालन हुनेछ ।
सिहंदरवारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई प्रत्याभूत गर्नका लागि पनि घरआँगनबाटै सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।