दमौली । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा कवादी खोलामा पक्की पुल निर्माण भएको छ ।
पुल निर्माणपछि बर्खायाममा सास्ती भोगिरहेका यस भेगका सर्वसाधारणलाई राहत पुगेको छ । २०७३ सालदेखि अलपत्र परेको उक्त पुल तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि श्रेष्ठको सक्रियतामा सम्पन्न भएको श्रेष्ठका स्वकीय सचिव जगत खड्काले जानकारी दिए ।
२०७३ सालमा टेण्डर प्रक्रिया पूरा गरि काम नभइ अलपत्र परेको मादी मरस्याङदी मोटरमार्गमा पर्ने कवादी पुलको ठेक्का हिरा एण्ड नमिता कन्ट्रक्सनले पाएको थियो ।
३१.५ मि.लम्बाइ ८.५ मि. चौडाई रहेको पुल तीन करोड ५६ लाखको लागतमा सम्पन्न भएको थियो । ‘अलपत्र पुलको काम सम्पन्न गर्न २०७८ साल माघदेखि म आफै फिल्डमा खटिएको थियो, काम सम्पन्न गराउन पाउँदा खुसी लागेको छ,’ उनले भने ।