दमौली । सबै कुरामा व्यापक परिवर्तन आउँदा दशैँ मात्र किन उस्तै रहन्छ र ? दशैँ मात्र होइन अरू चाडपर्व मनाउने तरिका पनि फेरिएका छन् । मान्छेको आवतजावत, आवधिक बसाईसराई र सञ्चारमाध्यमको बढ्दो प्रयोगका कारण दशैँको रौनकतामा पनि परिवर्तन आएको छ ।
लिङ्गे पिङ खेल्ने, साथीभाइ जमघट भइ मिठामिठा कुराकानी गर्ने, चङ्गा उडाउने जस्ता क्रियाकलापमा हराउदै जादाँ नयाँ पुस्तालाई परम्परागत दशैँको महत्वको बारेमा धेरै कुरा थाहा हुन छोडेको छ ।
नयाँ पुस्तामा चाडपर्वमा रमाउन भन्दा पनि प्रविधिको आडमा रमाउने संस्कृतिको विकास भइरहदा आफ्ना मौलिक परम्परा नै धरापमा पर्न सक्ने व्यास ४ स्थित हरिओम टोल विकास संस्थाका अध्यक्ष विमल सिग्देल बताउँछन्।
नयॉ पुस्ता कि त घरमा नै बसी प्रविधिसँग रमाउन मन पराउने कि त दुइ चार जना साथीभाइ मिली घुम्न मन पराउन चलनले गर्दा टोल छिमेकका साथीभाइ बीच हुनुपर्ने चिनजान, हार्दिकता, सहकार्य र सहयोगी भावनामा कमी आएको सिग्देलको भनाइ छ ।
दशैँको समयमा पहिलेको जस्तो उत्साह उमंगमा कमी आएकाले हरिओम टोलले दशैको अवसरमा बालबालिका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको टोल विकास संस्थाका अध्यक्ष सिग्देलले बताए ।
टोलले बालबालिकालाई बीच भाइचारा, एकता र आत्मिय भावना जागृत गराउने उद्देश्यले घैटो फुटाइ, तातो आलु, म्यूजिकल चियर लगायतका कार्यक्रम सञ्चालन गरेको टोल विकास संस्थाका उपाध्यक्ष सरस्वती पौडेलले बताइन् ।
यस्ता कार्यक्रमले दशैँ आएको अनुभूति गराएको कार्यक्रममा सहभागी आरोग्य सिग्देलले बताए ।चाडपर्व लक्षित यस्ता कार्यक्रमले बालबालिकालाई चाडपर्वको स्मरण गराउन मद्दत मिल्ने अभिभावक एवं टोल विकास संस्थाकी सक्रिय सदस्य मञ्जु पौडेलको भनाइ छ । कार्यक्रममा ५१ जना बालबालिकाको सहभागिता रहेको सचिव धर्म गिरीले बताए ।
कार्यक्रममा प्रथम,द्वितीय र तृतीय हुने बालबालिकालाई पुरस्कार स्वरूप शैक्षिक सामग्री प्रदान गरिएको कोषाध्यक्ष निल बहादुर गुरुङले जानकारी दिए । आगामी दिनमा पनि चाडपर्वको जगेर्ना गर्ने उद्धेश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने सदस्य कृष्णराज लामिछानेले बताए ।