‘गण्डकी प्रदेशको नामाकरणमा किरण गुरुङको भूमिका अतुलनीय’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    ‘गण्डकी प्रदेशको नामाकरणमा किरण गुरुङको भूमिका अतुलनीय’

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७९, बुधबार

    दुलेगौडा । नेकपा एमालेका तर्फबाट तनहुँ-२ प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् किरण गुरुङ । संघीय सरकारको वन र गण्डकी प्रदेशको अर्थमन्त्री भइसकेका गुरुङ उक्त क्षेत्रको मात्रै नभई गण्डकी प्रदेशकै प्रभावशाली नेता हुन् ।

    गुरुङ तिनै नेता हुन् जसले गण्डकी प्रदेशको नामाकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रदेशको नामाकरणका विषयमा रस्साकस्सी चलेका बेला गुरुङले प्रदेशको नाम गण्डकी राख्नुपर्छ भनेर अभियान चलाएका थिए । दलबीच फरक मतभेद रहेका बेला गुरुङले चलाएको अभियानले सार्थक रुप लियो र सबै गुरुङकै समर्थनमा उभिए ।

    उनी यतिबेला प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा जनतामाझ छन् । क्षेत्र नम्बर २ का हरेक भूगोलसँग परिचित गुरुङले यो क्षेत्रमा विकासको नेतृत्व गर्दै आएका छन् । गण्डकी प्रदेशको अर्थमन्त्री हुँदा क्षेत्प नम्बर २ मा गौरवका योजना सुरु भई कार्यान्वयनको चरणमा अगाडी बढेको छ ।

    कालीगण्डकी नदीलाई डाइभर्सन गर्न हुँदैन भनेर दरोसँग अडान राख्ने पनि गुरुङ हुन् । कालीगण्डकी धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको आफैमा एक सभ्यता हो । ‘ त्यसैले कालीगण्डकीलाई डाइभर्सन होइन, एकीकृत विकासमा जोड दिइनेछ । यसको धार्मिक र साँस्कृतिक महत्त्वलाई उजागर गरिनेछ,’ उनले भनेका छन्।

    प्राकृतिक मुलधारमा परिवर्तन नहुने गरी जलविद्युत, सिंचाइ, जल यातायात र एडभाञ्चर रफ्टिङको विकास तथा धार्मिक र साँस्कृतिक पर्या-पर्यटनको एकीकृत विकास गरिने उनले उल्लेख गरेका छन् । ‘विकासको नाममा यस नदीको जलाधार प्रसवण क्षेत्रलाई असर र क्षति पुग्ने तथा यसको प्राकृतिक बहावको मुलधारलाई नै परिवर्तन गर्ने कुनै पनि आयोजना हामीलाई मान्य हुनेछैन,’ उनी भन्छन् ।

    तनहुँ क्षेत्र नम्बर २ मा गुरुङको जित निश्चित रहेको बताइन्छ । तनहुँ-२ का हरेक क्षेत्रमा पुग्दा जनताबाट प्राप्त समर्थन नै गुरुङको जितको आधार रहेको शुक्लागण्डकीका इश्वर श्रेष्ठले बताए ।