पल शाहलाई तनहुँ अदालतबाट सफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाहलाई तनहुँ अदालतबाट सफाई

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७९, मंगलवार

    दमाैली । नाबालिक जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले सफाई दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचायएको इजलासमा आज बहस सकिएपछि शाहलाई अदालतले सफाई दिएको हो ।

    शाह विरुद्धको सुनुवाईमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुंवरले जानकारी दिए। “तनहुँ अदालतमा दर्ता भएको शाह विरुद्धको मुद्धामा अदालतले सफाई दिने फैसला सुनाएको छ,” कुंवरले भने। उनका अनुसार फैसला उपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।

    शाह विरुद्धको मुद्धाको पेशी तनहुँ अदालतमा पटक–पटक तोकिएर स्थगित हुँदै आएको थियो । उक्त मुद्धाको अन्तिम सुनुवाईमा आज वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए ।

    तनहुँ अदालतले शाहलाई सफाई दिएपनि उनी कारागारमै रहन्छन् । सोही प्रकृतिको मुद्धा नवलपुर अदालतमा दर्ता भएकामा नवलपुर अदालतले शाह विरुद्ध गत भदौ २१ गते दुई वर्ष छ महिना कैद र रु २५ हजार जरीवानाको फैसला सुनाएको थियो । साथै पीडितलाई रु दश लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला भएको थियो ।

    शाहले उक्त फैसला उपर गत कात्तिक २५ गते उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

    नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।