दमाैली । नाबालिग जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदाललते सफाई दिएपनि उनी तत्कालै रिहा हुने छैनन् । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको मंगलबारको इजलासले शाहलाई सफाई दिने फैसला सुनाएको थियो ।
शाह विरुद्धको अभियोगमा दावी नपुग्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुंवरले जानकारी दिए ।
तनहुँ अदालतले सफाई दिएपनि शाह तत्कालै रिहा हुनेछैनन् । सोही प्रकृतिको मुद्धामा नवलपुर अदालतले गत भदौ २१ गते दुई वर्ष छ महिना कैदको फैसला सुनाएको थियो । शाहले नवलपुर अदालतको फैसला भुक्तान गर्नुपर्छ । शाह करिब एक वर्ष कारागारमा बसिसकेका छन् ।
तनहुँ अदालतबाट सफाई पाएपनि नवलपुर अदालतको फैसला अनुसार शाह तनहुँ कारागारकै थुनामा रहने निमित्त जेलर नारायण अधिकारीले बताए । “नवलपुर अदालतको चिठी अनुसार शाहलाई तनहुँमै थुनामा राखिनेछ,” उनले भने ।