दमौली । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु बजारमा विगत केही दिनयता चोरको बिगबिगी बढेको छ । थर्पु बजारमा चोरी गर्ने समूह सक्रिय भएको स्थानीयले बताएका छन् ।
आइतबार राति १ बजे थर्पुस्थित सुनचॉदी पसल, खाद्यान्न, मेडिकल पसलमा चोरीको प्रयास भएको उद्योग वाणिज्य संघ थर्पुका सभापति भिमलाल श्रेष्ठले बताए । चोरी गर्ने समूहले ढोकाका ताला फोरेर घरभित्र प्रवेश गरेको र घरधनीले थाहा पाएपछि उनीहरु भागेको श्रेष्ठले जानकारी दिए ।
‘सिसी क्यामरामा हेर्दा २०/२१ वर्षका युवा देखिएका छन्, थर्पु बजारवासीलाई सचेत रहन आग्रह गर्दछु,’ उनले भने ।
स्थानीयले घटना विषयमा प्रहरीलाई जानकारी गराएपनि प्रहरी ढिला आउने गरेको गुनासो गरेका छन् । ‘थर्पु बजारबाट एक सय मिटर दूरीमा रहेको प्रहरीचौकीबाट आउन पनि आधा घण्टाभन्दा बढी लगाउने बजारबासीको गुनासो छ,’ उनले भने, ‘बजारबासी आफै सचेत रहनुको विकल्प भएन ।’