भैरहवामा सवारी दुर्घटना : तनहुँका तिवारीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भैरहवामा सवारी दुर्घटना : तनहुँका तिवारीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७९, मंगलवार

    भैरहवा । यहाँ ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    सोमबार बिहान भएको दुर्घटनामा बसका कर्मचारी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ का ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

    घाइतेको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । भैरहवामा लागेको बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    भैरहवा तथा आसपासमा हुस्सुका कारण हुने दुर्घटनालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले संयुक्त रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाएका छन् । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख साकारराज पन्तका अनुसार अभियान अनुसार ‘रिफ्लेक्टिङ स्टिकर’ टाँस गरिएको छ ।