मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०७९, बुधबार

    चितवन । मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ। 

    ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ। २०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक सुरेन्द्र घिमिरेले जानकारी दिए । 

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिसलिङबाट शक्तिखोरसम्मको दूरी ४५ किलोमिटर छ। यस क्षेत्रको नौ किलोमिटर पहिला नै निर्माण भएको थियो। निर्माण भएको पुरानो स्थानमा थप फराकिलो पारेर नयाँ निर्माणको काम भएको व्यवस्थापक घिमिरेले बताए । अहिले नयाँ निर्माण भएको ३५ किलोमिटर सडकमा कालोपत्रे गर्ने कार्य धमाधम भइराखेको उनले जानकारी दिए।

    “३५ किलोमिटरमध्ये पाँच किलोमिटर जतिमा पहिरोको जोखिम हुने भएकाले त्यस स्थानमा कालोपत्रे कार्य बाँकी राखिएको छ,” घिमिरेले भने, “पहिरोको जोखिमलाई समाधान गरेपछि त्यहाँ कालोपत्रे गरिन्छ, अन्य स्थानमा अहिले कालोपत्रेको कार्य भइराखेको छ।” २० किलोमिटर क्षेत्रमा कालोपत्रे भएर ट्राफिक चिह्नसमेत निर्माण भएका छन्। उनले भने, “अब यो सडक भएर यात्रा गर्न सकिन्छ।”

    ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत प्रदेश सरकारको लगानीमा यो सडक निर्माण भएको हो। कार्यालयका अनुसार २०७५ फागुनमा ८७ करोड रुपियाँको लागतमा ठेक्का सम्झौता भएको थियो। कोभिड–१९, सामग्रीको अभाव, प्राकृतिक जोखिमलगायतका कारणले पाँच पटक म्याद थपिएर अहिले सम्पन्न हुने तयारीमा रहेको आयोजनाका व्यवस्थापक घिमिरेले जानकारी दिए ।

    सोनाक्षी आशिष निर्माण कम्पनीले ठेक्का लिएको सडकको तीन स्थानमा पुल निर्माण गर्नुपर्नेछ। ती स्थानमा अहिले वैकल्पिक मार्ग निर्माण गरेर सवारीसाधन सञ्चालन भइराखेको निर्माण कम्पनीका इन्जिनियर सञ्जय महतोले जानकारी दिए । सडक निर्माणको मात्र ठेक्का लिएको कम्पनीले शक्तिखोलादेखि चितवनको पुरानो सदरमुकाम उपरदाङगढीसम्मको १० किलोमिटर क्षेत्रमा अहिले कालोपत्रेको काम भइराखेको महतोले बताए ।

    “अन्य स्थानमा कालोपत्रे भइसकेको छ,” उनले भने, “बीच भागको १० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न बेस तयारी अवस्थामा राखेका छौँ, दुई हप्ताभित्र काम सकिन्छ।” 

    पृथ्वी राजमार्गको फिसलिङ, शक्तिखोर हुँदै पूर्व–पश्चिम राजमार्गको टाँडीमा यो सडक जोडिन्छ। मुग्लिनको सडकमा पहिरो आएर बाटो बन्द भएको अवस्थामा अब साना सवारीसाधन तथा बस यही सडक भएर सञ्चालन गर्न सकिने आयोजनाले जानकारी दिएको छ।