दमौली । तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टले कानून बमोजिम काम गर्ने बताउँदै त्यसमा कसैसँग नडराउने बताएका छन् । जिल्ला आएपछि शुक्रबार पहिलो पटक पत्रकार भेटघाटमा विष्टले कानून बमोजिम काम गर्दा कसैसँग नडराउने उल्लेख गरे ।
गण्डकी प्रदेशमा आफ्नो पहिलो पटक दरबन्दी कायम भएको बताउँदै उनले भने, ‘तनहुँलाई शान्ति सुरक्षामा नमूना बनाउने प्रयासमा लाग्छु, त्यसका लागि यहॉहरुको सहयोग चाहिन्छ ।’
अपराध नियन्त्रण शान्ति सुरक्षा कायम गराउने सवालमा पत्रकारको सहयोग आवश्यक पर्ने भन्दै एसपी विष्टले भने, ‘प्रहरी एक्लैले केही गर्न सक्दैन । नागरिकको पनि सहयोग चाहिन्छ ।’ उनले पत्रकारलाई सूचना प्रवाहमा २४ सै घण्टा सहयोग रहने प्रतिबद्धता जनाए ।