गण्डकीका स्थानीय तहमा भ्रष्टाचारको बिगबिगी, अख्तियारमा उजुरीको चाङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका स्थानीय तहमा भ्रष्टाचारको बिगबिगी, अख्तियारमा उजुरीको चाङ

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७९, शनिबार

    पोखरा । नेपालमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी स्थानीय तहका छन् । जनताका नजिकको सरकारको रुपमा रहेको स्थानीय तहका भ्रष्टाचारका उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चाङ लागेका छन् ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गण्डकी प्रदेशमा स्थानीय तहका ४८३ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ । संघीय मामिला मन्त्रालयमा ३३४ र शिक्षा मन्त्रालयमा १४९ उजुरी छन् ।

    तीमध्ये १५६ उजुरी फर्छ्याैट भइसकेका छन् भने ३२७ उजुरी हुन बाँकी छ । यी उजुरी सबै स्थानीय तहबाट आएका हुन् । अख्तियारको वार्षिक प्रतिवेदनले स्थानीय तहमा भ्रष्टाचारका मुद्दा बढिरहेको देखाउँछ । गण्डकी प्रदेशमातहतका तहविरुद्ध चालु आर्थिक वर्षको ६ महिनामा ८ सय ५० उजुरी परेको अख्तियारको वार्षिक प्रतिवेदनले देखाउँछ ।

    प्रदेशका मन्त्रालयमा हेर्ने हो भने गण्डकीमा सबैभन्दा बढी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ४० उजुरी परेका छन् ।

    प्रदेश शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ३८, प्रदेश सामाजिक विकास मन्त्रालय (स्वास्थ्य मात्र) मा २५, भूमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालयमा ३८, प्रदेश भौतिक पूर्वाधार/यातायात मन्त्रालयमा ३०, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा १४, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय (खानेपानी र सहरी विकासमात्र) मा २३ र अन्य बाँकी मन्त्रालयमा १ सय ५९ उजुरी परेका छन् ।

    अख्तियारको पोखरा कार्यालयमा उजुरीको संख्या बढ्दो देखिन्छ । सार्वजनिक स्रोतको दोहन र सोबापत प्राप्त राजस्व हिनामिना, सार्वजनिक वन क्षेत्र अतिक्रमण, वन्यजन्तु स्रोतको तस्करीका बढी उजुरी अख्तियारमा आउने गरेको अख्तियार पोखरा कार्यालयका प्रमुख पार्वती पौडेलले बताइन् ।

    भ्रष्टाचार नियन्त्रण गर्न कार्यालयले नागरिक निगरानी संस्था गठन र परिचालन, नागरिक समाज र मिडियासँग सहकार्य गरिरहेको प्रमुख पौडेलले जनाइन् ।

    सबैभन्दा धेरै उजुरी कास्कीबाट

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै उजुरी कास्कीबाट परेका छन् ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कास्कीबाट ३ सय ७ उजुरी परेको सूचना अधिकारी राजु कुँवरले जानकारी दिए । जसमा १ सय ३ उजुरी फर्छ्याैट भइसकेको र २ सय ४ उजुरी फछ्र्यौट हुन बाँकी रहेको तथ्यांकले देखाउँछ ।

    गण्डकी प्रदेशको मुस्ताङबाट सबैभन्दा कम ९ वटा उजुरी परेका छन् । गोरखाबाट ५४, मनाङबाट १२, म्याग्दीबाट ३९, लमजुङबाट ३३, तनहुँबाट १ सय ३६, स्याङ्जाबाट ८७, पर्वतबाट १ सय ३ र बागलुङबाट ७० उजुरी परेको अख्तियार कार्यालयले जनाएको छ ।