प्रदेश १ को नाम कोसी, दुई तिहाई बहुमतले पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रदेश १ को नाम कोसी, दुई तिहाई बहुमतले पारित

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७९, बुधबार

    विराटनगर । प्रदेश १ को नाम कोसी कायम भएको छ । प्रदेश सभाको आज बसेको बैठकको दुई तिहाइ बहुमतबाट कोसी नाम पारित भएको हो । 

    प्रदेशको नाम कोसी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ विपक्षमा चार मत परेको हो । यो प्रक्रियामा ६ जना सांसद अनुपस्थित थिए । कोसीको पक्षमा कांग्रेस र एमालेसमेत एकमत थिए । राप्रपाले पनि कोसीलाइ समर्थन गरेको थियो । 

    यसअघि नाम संशोधनका लागि दिइएको दुई घण्टाको समयमा कमलप्रसाद जबेगु र राजेन्द्र राईले संशोधन दर्ता गरेका थिए । 

    पहिचानको आधारमा नाम राख्नुपर्ने मागसहित प्रदेशसभामा राईले किराँत–लिम्बुवान–सगरमाथा नाम दर्ता गराएका थिए । त्यो प्रस्तावमाथि उनले संशोधन हालेका थिए । सगरमाथाको ठाउँमा राईले कोसी राखेर संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

    सभामुख बाबुराम गौतमले प्रस्ताव फिर्ता गर्न समय दिएपनि राईले प्रस्ताव फिर्ता नगर्ने सभामा जानकारी गराएका थिए । सभाले राईको प्रस्ताव वहुमतले अस्वीकृत गरेको थियो ।