पाेखरामा भजन महाेत्सव तथा खुल्ला लाेक भजन चुड्का प्रतियाेगिता हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पाेखरामा भजन महाेत्सव तथा खुल्ला लाेक भजन चुड्का प्रतियाेगिता हुने

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७९, बिहीबार

    पाेखरा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजना तथा प्रदेश र जिल्लाको सहआयोजनामा ज्ञानमहायज्ञ, भजन महोत्सव तथा खुल्ला लोक भजन चुड्का प्रतियोगिता हुने भएको छ।

    फाल्गुन २५ गतेदेखि चैत्र २ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने बृहत ज्ञानमहायज्ञ, भजन महोत्सव तथा खुल्ला लोक भजन चुड्का प्रतियोगिता सम्भवत: नेपालकै पहिलो भएको प्राज्ञ प्रजापति पराजुलीले बिहीबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रहेका पराजुलीले लोपोन्मुख भजन संरक्षणका लागि पनि भजन महोत्सव आयोजना गर्न आवश्यक रहेको जानकारी दिए।

    May be an image of 1 person, standing and flower

    अग्रजहरूबाट आफुले लोक भजन कृतन गाउन बजाउन सिकेको स्मरण गर्दै उनले नयाँ पुस्तालाई सो कुरा हस्तान्तरण गर्दै कला र संस्कृतिको संरक्षणमा अघि लाग्न प्रेरित गर्नुपर्ने आवश्यकता औंलाए।

    राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका महासचिव डा.तुलसी प्रभास खनालले ज्ञान महायज्ञ त धेरै भए तर यसका वैज्ञानिक तथ्य सहित यो महायज्ञ हुन लागेको बताए। महायज्ञमा वैज्ञानिक तथा आध्यात्मिक व्याख्यता चैतन्य कृष्ण प्रभुको मुखारविन्दबाट भागवत् वाचन गराईने तथा विभिन्न जिल्लाका फरक फरक लय, भाकाका भजन प्रस्तुत गरिने उल्लेख गरे।

    May be an image of 11 people, people standing, people sitting and outdoors

    मौलिक कला र संस्कृति झल्कने संग्रालय सहितको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको केन्द्रीय भवन निर्माणार्थ आयोजित बृहत ज्ञानमहायज्ञ, भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा देशैभरीबाट १०० भन्दा बढी भजन समुहहरू उपस्थित रहने आयोजकले बताएको छ।

    प्रतियाेगितामा प्रथम हुनेलाई ५१ हजार, द्वितीय हुनेलाई ३१ हजार, तृतीय हुनेलाई २१ हजार र सान्त्वना हुनेलाई ११ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

    त्यस्तै उत्कृष्ट नृत्यलाई सात हजार पाँच सय, उत्कृष्ट झाँकीलाई सात हजार पाँच सय, अनुशासनलाई सात हजार पाँच सय र भेषभूषालाई सात हजार पाँच सय पुरस्कार प्रदान गरिनेछ ।

    दुर्गम जिल्लाबाट सहभागी समूहलाई खाना तथा आवासको समेत व्यवस्था हुने जनाईएको छ। महायज्ञको सफलताका लागि स्थानीय निकाय, विज्ञापनदाता र व्यवसायिक प्रतिष्ठान तथा सनातनि धर्म अनुयायीहरू सबैलाई आग्रह गरिएको छ। बृहत ज्ञानमहायज्ञ, भजन महोत्सव तथा खुल्ला भजन चुड्का प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख खर्च हुने र करिब १ करोड आम्दानी हुने आयोजकले अनुमान गरेको छ।