सामाजिक सञ्जालले जुटायो उपचार खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक सञ्जालले जुटायो उपचार खर्च

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७९, शुक्रबार

    दमाैली । तनहुँको भानु नगरपालिका–१३ का सामाजिक अभियान्ता गलबहादुर गुरुङले सामाजिक सञ्जाल मार्फत एक बालकको उपचार सहयोग खर्च जुटाएका छन् । फोक्सो र कलेजोबाट पीडित सोही वडा निवासी १६ वर्षीय मनोज मौरातीको उपचारका लागि गुरुङले सामाजिक सञ्जालको प्रयोग गरी उपचारमा सहयोग पु¥याउन खर्च जुटाएका छन् ।

    फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि पीडित बन्नुभएका मौरातीको उपचारका लागि गुरुङको सक्रियतामा देश तथा विदेशबाट उपचार खर्च जुटाइएको छ । हालसम्म रु तीन लाख ५० हजार सङ्कलन भएको गुरुङले बताए। सङ्कलित रकम दमौलीमा पीडित मौरातीलाई हस्तान्तरण गरिएको छ । उठेको रकममध्ये रु एक लाख ७८ हजार चार सय ७८ बिहीबार हस्तान्तरण गरिएको हो । बाँकी रकम भने यसअगाडी नै पीडितलाई हस्तान्तरण भइसकेको छ ।

    बुबाको मृत्यु भइसकेको र घरको आर्थिक अवस्था कमजोर भएपछि मौरातीको परिवारले सहयोगको अपिल गरेको थियो । गुरुङले मौरातीको उपचारका लागि सहयोगको अपिल गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् अनुरोध गरेपछि तनहुँ घर भई विभिन्न देश पुगेका तथा जिल्लाबाहिर रहेकाहरुले सहयोग गरेका छन् ।

    “अहिलेको सूचना प्रविधिको युगमा सामाजिक सञ्जालको प्रयोग गर्दै केही रकम सङ्कलनको प्रयास गरेका छौ, यो रकमले बालकको उपचारमा सहयोग पुग्ने विश्वास लिएका छौ,” गुरुङ भन्छन् “हालसम्म उठेको रकम पीडितलाई हस्तान्तरण गरेका छौ । अझैपनि केही दाताहरुले रकम हस्तान्तरण गर्न बाँकी छ ।”

    गत भदौदेखि मौरातीले फोक्सो र कलेजोमा समस्या आएपछि औषधि सेवन गरिरहेका छन् । उपचारका क्रममा फोक्सो र कलेजोमा जुकाले अण्डा पारेको पत्ता लागेको थियो । “सुरुमा खोकी लाग्ने, वान्ता आउला जस्तो हुने लक्षण देखिएको थियो, पछि उपचारका लागि परीक्षण गराउँदा त्यस्तो रोग लागेको पत्ता लाग्यो,” पीडितका दाई कृष्ण मौरातीले भने, “घरको आर्थिक अवस्था राम्रो नभएपछि सहयोगको अपिल गरिरहेका छौ ।”

    पीडित बालकको फोक्सोको ‘ओपन सर्जरी’ गरिएको छ भने कलेजोको सर्जरी गर्न बाँकी छ । “फोक्सोको ओपन सर्जरी सफल भइसकेको छ, दोस्रो पटक कलेजोको पाइपमार्फत् शल्यक्रिया गरिएको थियो, केही समयपछि चिकित्सकले पुनः उपचारका लागि बोलाएका छन्,” उनले भने । सबैले धेरैथोरै सहयोग गरिदिए बालकको उपचारमा सहयोग हुने भन्दै उनले सहयोगको अपिल गरेका छन् । बालकको उपचारका लागि हालसम्म रु तीन लाख भन्दा बढी खर्च भइसकेको छ । –––