टिम नेपोद्वारा तनहुँ कारागारमा पुस्तक हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    टिम नेपोद्वारा तनहुँ कारागारमा पुस्तक हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७९, शुक्रबार

    दमौली । युवाहरुको सामाजिक संस्था टिम नेपो तनहुँले कारागार कार्यालय तनहुँमा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि शुक्रबार एक कार्यक्रमका बीच सो संस्थाद्वारा स्थापित पुस्तकालयमा दुई सय थान पुस्तक हस्तान्तरण गरेको छ।

    कारागार सुधार परियोजना अन्तर्गत नेपालका कारागारहरूमा पुस्तकालय स्थापना गर्दै आएको उक्त संस्थाले कैदीहरूको पुनर्स्थापना, पठन संस्कृतिको प्रवर्द्धन र कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्ने उद्देश्यसहित उनीहरूलाई सूचना र शिक्षाको अधिकार सुनिश्चिता दिने लक्ष्य राखेको छ ।

    संस्थाका अध्यक्ष रवि अधिकारीले कारागारका निमित्त प्रमुख नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गरेका छन् ।

    कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले टिम नेपो तनहुँले जिल्लामा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको बताए ।

    कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले टिम नेपोको यस परियोजनाले कारागारलाई सुधार केन्द्रको रुपमा स्थापित गर्न ठुलो टेवा पुर्याएको बताए ।

    टिम नेपोका संस्थापक अध्यक्ष डा. निगम पौडेलले कैदीबन्दीलाई किताब पढ्नमा समय लगाउन आग्रह गर्दै समाजकै एक हिस्सा भएकाले कारागारबाट सुरु भएको परिवर्तनले सिंगो समाजलाई नै सकारात्मक दिशा तर्फ डोर्याउने बताए ।

    पुस्तकालय स्थापना भए सगै कैदीबन्दीका लागि निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै संस्थाले महिला कैदीहरूलाई १०० थान सेनेटरी प्याड हस्तान्तरण गरेको थियो । उक्त शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप तथा सुगर जाँच र औषधिहरू नि:शुल्क वितरण गराइएको थियो भने थप टेस्ट तथा उपचार आवश्यक पर्ने बिरामीहरूलाई जिल्ला अस्पताल तथा केन्द्रीय कारागार अस्पतालमा रेफर पनि गरिएको डा. पौडेलले बताए ।

    १६० कैदीबन्दी (१४५ पुरुष र १५ महिला) तथा कारागारका सुरक्षाकर्मी र अन्य कर्मचारीसहितले सेवा लिएको उक्त शिविर व्यास नगरपालिका, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ, कारागार कार्यालय तनहुँ तथा समाधान अस्पतालको सहयोगमा आयोजना भएको टिम नेपो तनहुँका सचिव रमेश नेपालीले जानकारी दिए।