रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुरको बन्ध्याकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुरको बन्ध्याकरण

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७९, शनिबार

    दमाैली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले रेबिज रोग नियन्त्रणका लागि सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । शहरी क्षेत्रमा सामुदायिक कुकुरको सङ्ख्या बढ्न थालेपछि केन्द्रले बन्ध्याकरण शिविर सञ्चालन गरेको हो ।

    अस्पतालमा आजदेखि सुरु भएको बन्ध्याकरण शिविरमा ६४ कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए। शिविर शनिबारसम्म सञ्चालन हुनेछ ।

    व्यास नगरपालिका क्षेत्रमा रहेका सामुदायिक कुकुर, घरपालुवा कुकुरको बन्ध्याकरण गरिनुका साथै रेबिज रोग विरुद्धको खोप लगाइएको छ । शिविरमा गोरखा, लमजुङबाट बन्ध्याकरणका लागि कुकुर ल्याइएको थियो ।

    सन् २०३० सम्म कुकुरको टोकाइले हुने रेबिज रोगबाट मानिसको मृत्यु शुन्य पार्ने लक्ष्य सहित शिविर आयोजना गरिएको डा. श्रेष्ठले बताए। “नेपाल सरकारले सन् २०३० सम्म रेबिज रोगबाट मानिसको मृत्यु शुन्य पार्ने सङ्कल्प लिएको छ, सोही सङ्कल्पलाई पूरा गर्न केन्द्रले विभिन्न समयमा बन्ध्याकरण शिविर गर्दै आइरहेको छ,” डा. श्रेष्ठले भने।

    शहरी क्षेत्रमा सामुदायिक कुकुरको सङ्ख्या बढ्न थालेपछि केन्द्रले बेला–बेलामा बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । “छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरको सङ्ख्या घटाउनका लागि स्थायी बन्ध्याकरण अभियान चलाएका हौ,” डा. श्रेष्ठले भने।

    कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागिएको छ । केन्द्रले पहिलो चरणमा व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न प्रयास गरेको छ ।