दमौली । ऑबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरआत गरेको छ । गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले रुपान्तरण योजना सुरुआत गरेको हो ।
गाउँपालिकाले रुप फेर्ने, सिकाई गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार वटा विषयलाई प्राथमिकता दिएको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौ भनेर कार्ययोजना बनाएर लागेका छौ,’ उनले भने, ‘शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौ ।’
रुप फेर्ने योजना अन्तर्गत बाल विकासदेखि कक्षा ५ सम्मका सबै छात्र छात्रालाई निशुल्क ट्रयाकसुट, झोला, जुत्ता मोजा तथा टि सर्ट वितरण, विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क बेन्च फेर्ने, नर्सरी देखि कक्षा २ सम्म स्मार्ट टिभी राखी सिकाइ सहज गर्ने र केही विद्यालयमा बस प्रदान गर्ने योजना छ ।
‘कतिपय विद्यालयका विद्यार्थी विद्यालयसम्म पुग्न घण्टौ हिँड्नुपर्ने बाध्यता छ, त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौ,’ उनले भने ।
सिकाइ गुणस्तर योजना अन्तर्गत कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीको वार्षिक मूल्यांकन शिक्षण प्रतिवेदन अनुसार समस्याको पहिचान गरी समाधान तर्फ पहल गरिनेछ । विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै श्रोतमा शिक्षक परिचालन गर्ने योजना रहेको चुमानले बताए ।
प्रोत्साहन योजना अन्तर्गत जनप्रतिनिधिको छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउने तयारी गरिएको छ । आगामी शैक्षिक सत्रदेखि यसको कार्यान्वयन हुने चुमान बताउँछन् । ‘सामुदायिक विद्यालयमा अपनत्व बढाउन यो निर्णय कार्यपालिका बैठकबाट भइसकेको छ,’ उनले भने ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति ल्याउन लागेको चुमानले बताए । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नम्बर ४,५ र ६ का परिवारका लागि पालिकाले निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उनले बताए ।