जनमतको रुझानबारे स्वर्णिमको विश्लेषण- विगतप्रतिको वितृष्णा, भविष्यप्रतिको आशा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनमतको रुझानबारे स्वर्णिमको विश्लेषण- विगतप्रतिको वितृष्णा, भविष्यप्रतिको आशा

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८०, सोमबार

    दमौली । तनहुँ १ को मतगणनामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिइरहेका छन् । २५ प्रतिशत हाराहारी मतगणना हुँदा नै उनको जित निश्चितजस्तो देखिएको छ ।

    यो निर्वाचनमा रास्वपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो । तर, अहिलेसम्मको मतगणनामा प्रमुख प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा डा. वाग्ले दोब्बरभन्दा बढी मतले अगाडि छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनाल प्रतिस्पर्धामा कमजोर देखिए ।

    अहिलेसम्म २५ प्रतिशतमात्रै मतगणना सकिएको छ । तर, धेरैले डा. वाग्लेलाई बधाई दिन थालिसकेका छन् । उनी आफैं पनि आफ्नो जितमा निश्चिन्त देखिन्छन् ।

    ‘तनहुँ १ मा तपाईंको जित सुनिश्चित मान्न सकिन्छ ?’ भन्ने नेपाल प्रेसको प्रश्नमा उनले जवाफ दिए, ‘सकिन्छ ।’

    अहिलेसम्मको मतगणनाको रुझान आशातित नै रहेको डा. वाग्लेले बताए ।

    ‘५० प्रतिशत जति आउँछ होला भन्ने हाम्रो आँकलन थियो, सायद अन्तिम नतिजामा त्यस्तै होला,’ उनले भने ।

    केही वडाहरूमा आफूहरूले अपेक्षा गरेभन्दा पनि राम्रो मत आइरहेको उनले बताए ।

    जनताले मतपत्र मार्फत परिवर्तनको चाहनालाई अभिव्यक्त गरेको बताउँछन् डा. वाग्ले । वर्तमान पार्टीहरू र नेताहरूप्रतिको वितृष्णा पनि निर्वाचनमा पोखिएको उनको विश्लेषण छ ।

    ‘देखिहाल्नुभयो, चार-चार जना प्रधानमन्त्री आएर बोल्नुभएको छ । एउटा पार्टीको त सिंगो केन्द्रीय समिति नै यहीँ थियो । तर पनि जनताले उहाँहरूप्रति विश्वास देखाउनुभएन,’ उनले भने ।

    के यो अरु पार्टीप्रतिको वितृष्णाले मात्रै रास्वपामा मत ओइरिएको हो त ?

    डा. वाग्ले भन्छन्, ‘दुवै हो । यो मतपरिणाम विगतप्रतिको वितृष्णा र भविष्यप्रतिको आशा झल्किएको छ ।’ (नेपाल प्रेस)