दमाैली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताएका छन् ।
गण्डकी प्रदेश सरकार र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको आयोजना र व्यास नगरपालिका–५ स्थित कालीभञ्जन गण (इ) को आयोजनामा साेमबार व्यास नगरपालिका–१० मादी नदीमा आयोजित विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’ कार्यक्रममा सम्बोधन गर्दै पाण्डेले विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको योगदान महत्वपूर्ण रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले भने, “त्यसमध्ये पनि नेपाली सेनाले पु¥याउँदै भूमिका उच्च प्रशंसनीय रहँदै आएको छ ।” मुख्यमन्त्री पाण्डेले नेपाली सेनाको उच्च जनशक्ति, दक्ष व्यवस्थापन, पूर्व तयारी, तैनाथी, स्रोत साधन र विपद्का घटनामा तत्काल परिचालनले विपद् न्यूनीकरणमा नेपाली सेना सशक्त रहँदै आएको इतिहासले पुष्टि गरेको उल्लेख गरे।
उनले भने “विसं २०७२ सालको भूकम्प होस् वा विमान दुर्घटनामा नेपाली सेनाको प्रदर्शन उच्च प्रशंसनीय रहेको छ । विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव छैन,यसका लागि सामूहिक प्रयास आवश्यक छ ।”
विपद् व्यवस्थापनमा प्रदेश सरकारले समनात्वमक र अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताउँदै प्रदेश सरकारले विपद्लाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनले उल्लेख गरे। मुख्यमन्त्री पाण्डेले यस वर्ष सुरक्षाकर्मीको क्षमता अभिवृद्धि र स्थानीयवासीयका लागि सामुदायिक प्रतिकार्यका लागि सहयोग गरेको बताए ।
विद्यालय स्तरको पाठ्यक्रममा पनि विपद् न्यूनीकरणलाई समावेश गर्ने विषयमा छलफल अगाडी बढाइएको उनकाे भनाइ थियो । गण्डकी प्रदेशका गोरखा, मुस्ताङ र मनाङमा हिमपहिरा र अन्य जिल्लामा बाढी पहिराको जोखिम रहेको बताउँदै उनले प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट प्रभावित हुँदै आएको बताए।
नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति एवं उपरथी दीपक बानियाँले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जिउधनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । गण्डकी प्रदेशमा विगत तीन वर्षमा बाढीपहिरा, आगलागी, हिमपहिराबाट दुई सय १८ मृत्यु भएको तथ्याङ्क रहेको भन्दै उहाँले प्रदेश विपद्बाट जोखिमको सूचीमा रहेको उल्लेख गरे।
प्रतिकार्य योजना बमोजिम नेपाली सेनाले सबैसँगको समन्वयमा विपद्का घटनामा सहयोग पु¥याउँदै आएको बताउँदै उनले गत आर्थिक वर्षमा १८ वटा सचेतनामूलक अभ्यास सञ्चालन गरिएको जानकारी दिए।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विपद्का घटना न्यूनीकरणका लागि जटिलता रहेकाले सबैको सामूहिक प्रयासबाट सम्भव रहेको बताए। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तनहुँ जिल्ला विपद्को सूचीमा अग्रस्थानमा रहेकाले नमूना अभ्यासले विपद् जोखिम न्यूनीकरणका लागि सहयोग पु¥याएको बताए।