डेङ्गु नियन्त्रणका लागि व्यासमा ‘खोजौ र नष्ट गरौं’ अभियान सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डेङ्गु नियन्त्रणका लागि व्यासमा ‘खोजौ र नष्ट गरौं’ अभियान सुरु

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८०, शुक्रबार

    दमौली। डेङ्गु सङ्क्रमण बढ्न थालेपछि तनहुँको व्यास नगरपालिकाले खोजौ र नष्ट गरौं अभियान सुरु गरेको छ । केही दिनयता जिल्लामा पनि डेङ्गुका बिरामी बढ्न थालेपछि नगरपालिकाले शुक्रबारदेखि अभियान सञ्चालन गरेको हो ।

    सबै जागौ सबै लागौं, वरिपरि जमेको पानी हटाइ डेङ्गु हटाऔं भन्ने मूल नाराका साथ प्रत्येक शुक्रबार लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनले भने, “लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरुमा पुगेर खोजौं र नष्ट गर्ने अभियान सञ्चालन गरेका हौ ।”

    अभियानको पहिलो दिन आज व्यास नगरपालिका–२, ३ र ४ का ग्यारेजहरुमा रहेका टायरहरुमा जमेको पानी सरसफाइ गरिएको छ । त्यस्तै पानी जम्मा भएको ठाउँमा किटनाशक औषधी छरिएको छ । “ग्यारेजका टायरमा जमेको पानीमा फूल पार्ने सम्भावना बढी हुने भएकाले त्यहाँ सरसफाइ गरिएको छ, साथै शुक्रबार लार्भाको खोजी गर्ने र नष्ट गर्ने अभियान निरन्तर सञ्चालन हुनेछ,” उनले भने ।

    व्यास नगरपालिकाको ¥यापिड रेष्पोन्स टिमको बैठकले नगरपालिकाका १४ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको सोतीले जानकारी दिए ।

    खोजौै र नष्ट गर्ने अभियान कार्यान्वयन गर्नका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समूहहरु, पत्रकार, सङ्घसंस्था तथा सम्पूर्ण सरोकारवाला निकायलाई परिचालन गरी अभियान सञ्चालन गरिने जनाइएको छ ।

    यस अभियान अन्तर्गत घर वरपर सरसफाइ, पानी जम्ने खाडलहरु पुर्ने र टिनका डब्बाहरु, थोत्रा टायरहरु, गमला, फूलदानी, बाल्टिनमा पानी जम्न नदिने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले गर्नुपर्ने सबै काम गरिने बताए ।