दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ साँडेबगरका बुद्धसिंह गुरुलाई फसाउन खोजिएको भन्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय देवघाटमा धर्ना दिएका छन् । गुरुङको घरमा प्रहरीले शुक्रबार गैडाको खाग भएको सूचनाको आधारमा खानतलासी गरेको थियो । तर प्रहरीले गुरुङको घरको शौचालयबाट खागको आकारको काठको टुक्रा बरामद गरेको थियो ।
सोही घटनामा प्रहरीले नै निज गुरुङलाई फसाउन खोजेको भन्दै स्थानीयवासीले आज प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।
इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी सहायक निरीक्षक बोजनारायण श्रेष्ठ लगायत फसाउन षड्यन्त्रमा सहयोग गर्ने प्रहरीहरुलाई कारबाहीको माग गर्दै स्थानीयवासी आन्दोलित भएका हुन् । स्थानीयवासीले शान्ति सुरक्षा कायमको माग समेत राखेका छन् ।
स्थानीयवासीहरुले निर्दोष फसाउन पाइँदैन, प्रहरी दमन बन्द गर, प्रसनी श्रेष्ठलाई कारवाही गर लगायतको नाराबाजी गरेका छन् ।
निज गुरुङ वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत थिए । उनी गत वैशाखमा मात्रै घर आएका थिए ।