काठमाडौं । विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो लेगको खेलमा एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै नेपालले बराबरी गरेको हो । नेपालका लागि अञ्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरी गरेका थिए ।
सुस्त सुरुवात भएको खेलको पहिलो हाफमा लाओसले एउटा अवसर बनायो र त्यसैमा गोल गर्दै अग्रता बनायो । लाओसका लागि कप्तान बोनपछान बोउनकोङले ३३ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।
उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका हुन् ।