व्यासगुफामा तीन दिने पञ्च कुण्डीय गायत्रीयज्ञ सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासगुफामा तीन दिने पञ्च कुण्डीय गायत्रीयज्ञ सुरु

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०८०, आईतवार

    दमाैली । गायत्री परिवार नेपालको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफामा तीन दिने पञ्च कुण्डिय गायत्री यज्ञ आइतबारदेखि सुरु भएको छ । व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिसरमा कात्तिक १ गतेदेखि भइरहेको आठौ विश्व ओमकार तथा हिन्दु महामिलन पर्वको अवसरमा आजदेखि पञ्च कुण्डीय गायत्रीयज्ञ सुरु भएको हो ।

    मानवमा देवत्व र धर्तीमा स्वर्गको अवतरण भन्ने मूल ध्येयका साथ वेदमूर्ति तपोनिष्ठ युग ऋषि पण्डित श्रीराम शर्मा आचार्यले युग निर्माणका लागि घोषणा गरेकाे योजनालाई अनुसरण गर्दै तनहुँमा यज्ञ आयोजना गरिएको गायत्री परिवारका केन्द्रीय अध्यक्ष गायत्री काफ्लेले जानकारी दिइन्।

    गायत्री परिवार नेपालको राष्ट्रिय सम्मेलन पछिको पहिलो कार्यक्रम व्यास गुफाबाट आरम्भ गरिएको भन्दै बुद्धिमा सद्बुद्धि जोड्ने काम गायत्री मन्त्रले गर्ने उनले उल्लेख गरिन् ।

    ऋषि पण्डित आचार्यको घोषणामा गायत्री यज्ञलाई प्राथमिकतामा राखी दुस्कर्मलाई सत्कर्ममा बदलिदिँदा युग निर्माण हुने निश्चित रहेको भन्दै साधना, स्वास्थ्य, शिक्षा, स्वावलम्बन, नारी जागरण, पर्यावरण वातावरण सन्तुलन र कुरीति र दुव्र्यसन उन्मूलन लगायतका सातवटा अभियान अघि सारिएको उहाँको भनाइ छ ।

    गायत्री यज्ञमा केन्द्रीय सदस्य डा. विजयप्रसाद प्रधान, लुम्बिनी प्रदेश प्रमुख सत्यनारायण पाठक, बाँके जिल्ला अध्यक्ष मनिष कर्माचार्य, कम्दी गौशाला प्रमुख खिम रोका क्षेत्री, दाङका श्रीराम दहित थारु लगायत सहभागी छन्।

    यज्ञमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अवदेश विष्ट, राष्ट्रिय अनुसन्धान तनहुँका उपअनुसन्धान निर्देशक सुरेश तिवारी, पत्रकार महासङ्घ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा लगायत एक सय ५१ जनाले हवन गरेका थिए ।