दमाैली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँको आँबुखैरेनी अस्पतालको शुक्रबार उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले आज आँबुखैरेनी गाउँपालिका–३ मा रहेको अस्पतालको उद्घाटन गरेका हुन् ।
सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा सेवा सुरु गरेको थियो ।
साे अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र स्थानीय तहलाई अधिकार सहित बलियो बनाउने बताए । दाहालले भने, “संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लो तहसम्म पु¥याउँछौ, त्यसो भएन भने मात्रै प्रश्न उठाउने अधिकार सबैलाई हुन्छ । अधिकार नपुग्दै सङ्घीयता असफल भयो भन्नु बेइमानी हुन्छ ।”
प्रधानमन्त्री दाहालले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै सङ्घीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने उल्लेख गरे। प्रधानमन्त्री दाहालले भने, “सङ्घीयताको बारेमा अरुले भन्दा मैले बढी बुझेको छु भन्ने मेरो दावी छ । सङ्घीयतालाई बलियो बनाउनेतर्फ म क्रियाशील छु ।”
प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री दाहालले भने, “यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुन्छ, नत्र बलियो हुँदैन । प्रदेश सरकार भएको अनुभूति जनतालाई दिलाउन सकिएन भने प्रदेशको महत्वबारे बुझाउन सकिँदैन ।”
प्रधानमन्त्री दाहालले तीनवटै ऐन कार्यान्वयनमा आउने उल्लेख गरे । गएको तीन चारदिनदेखि प्रहरीसँग, गृहमन्त्रालयसँग छलफलमा रहेको बताउँदै दाहालले केहीदिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने प्रधानमन्त्री दाहालले दावी गरे। उनले भने, “त्यसो भएमात्रै प्रदेश सरकारसँग लाठी हुनेछ, अनि मात्रै प्रदेश सरकार बलियो हुनेछ ।” सङ्घीय निजामती ऐन बनिसकेको बताउँदै दाहालले यो ऐन पनि कार्यान्वयनमा आउने बताए।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी लगायतले आँबुखैरेनी विकासको अभियानमा अगाडी बढेको बताए।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताए।
अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी र तीन जना मेडिकल अधिकृतको व्यवस्था गरिएको अध्यक्ष चुमानले जानकारी दिए।
अस्पतालमा एक्सरे सेवा समेत सञ्चालनको तयारी गरिएको छ । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौडाबाट पाँच सय एमए एक्से मेसिन मर्मत गरी जडान गरिएको छ ।
गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने चुमानको भनाइ छ । उनले भने “ठूला शल्यक्रिया गर्नुपरेमा महिना एक पटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमित रुपमा अस्पतालमै हुनेछ ।”
अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन समेत पहल भइरहेको छ। आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल आवश्यक रहेको चुमानले बताए।