प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ : प्रधानमन्त्री दाहाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ : प्रधानमन्त्री दाहाल

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८०, शुक्रबार

    दमाैली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् । तनहुँको आँबुखैरेनी अस्पतालको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने “संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लोतहसम्म पुर्‍याउँछौँ, अधिकार नपुग्दै सङ्घीयता असफल भयो भन्न हुन्न ।” प्रधानमन्त्री दाहालले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै सङ्घीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने उल्लेख गरे। उनले भने, “सङ्घीयताको बारेमा अरुले भन्दा मैले बढी बुझेको छु भन्ने मेरो दाबी छ । सङ्घीयतालाई बलियो बनाउनेतर्फ म क्रियाशील छु ।”

    प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै प्रधानमन्त्री दाहालले भने, “यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुन्छ, नत्र बलियो हुँदैन । प्रदेश सरकार भएको अनुभूति जनतालाई दिलाउन सकिएन भने प्रदेशको महत्वबारे बुझाउन सकिँदैन ।”

    प्रधानमन्त्री दाहालले तीनवटै ऐन कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो । गएको तीन चारदिनदेखि प्रहरीसँग, गृह मन्त्रालयसँग छलफलमा रहेको बताउँदै उनले केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने दाबी गरे। सङ्घीय निजामती ऐन बनिसकेको बताउँदै प्रधानमन्त्री दाहालले उक्त ऐन पनि कार्यान्वयनमा आउने स्पष्ट पारे।

    उनले सिंहदरबार जनताको घरदैलोमा आएको अनुभूति दिलाउने विश्वास दिलाउँदै स्वास्थ्य, शिक्षाका बारेमा सरकार प्रतिबद्ध रहेको बताए।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताए।

    आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा सेवा सुरु गरेको थियो । अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ ।

    अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक र तीन जना मेडिकल अधिकृतको व्यवस्था गरिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । अस्पतालमा एक्सरे सेवासमेत सञ्चालनको तयारी गरिएको छ । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौडाबाट पाँच सय एमए एक्से मेसिन मर्मत गरी जडान गरिएको छ ।

    गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने चुमानको भनाइ छ । उनले भने “ठूला शल्यक्रिया गर्नुपरेमा महिना एक पटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमितरुपमा अस्पतालमै हुनेछ ।”

    अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउनसमेत पहल भइरहेको छ । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल आवश्यक रहेको चुमानले बताए। “पन्ध्र शय्याको अस्पताल हामी आफैँ चलाइरहेका छौँ, एक सय शय्याको अस्पताल प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बनाउने लक्ष्य राखेका छौँ”, चुमानले भने, “त्यसपछि आँबुखैरेनी मात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।”