मुस्ताङ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले शनिबार मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयको स्थलगत निरिक्षण र विद्यालयका प्रअ, शिक्षक र विद्यार्थीहरुसँग छलफल गरेका छन् ।
पद्मसंभव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले विद्यालयको भौतिक, शैक्षिक गतिबिधि, अवस्था र उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
कक्षा १ देखि १० सम्म निशूल्क आवासीय सुविधा सहित अध्यापन गराइने विद्यालयमा हाल २१५ जना नेपालका सबै जिल्ला र भारतका विद्यार्थीहरु छन् । नेपाल सरकारद्धारा लागू भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमपबाट औपचारिक वौद्ध शिक्षा प्रदान गरिने विद्यालयमा विद्यार्थीहरुलाई निःशूल्क शिक्षा, आवास, भोजन, पोशाक लगायतको सुविधा प्रदान गरिएको छ ।
हाल छात्रहरु मात्र रहेको विद्यालयमा समुदायको माग अनुसार आगामी शैक्षिक सत्रदेखि छात्रालाई पनि पठनपाठनको व्यवस्था मिलाउन लागिएको प्रअ तुलाचनले बताए । विद्यालयमा हालै सुविधासम्पन्न तीन सय जना क्षमताको छात्रावास भवन निर्माण भएको छ ।
प्रअ तुलाचनले बेनी–जोमसोम सडकको थापाखोला देखि विद्यालय भवन सम्म पुग्ने सडक स्तरोन्नतिका लागि अनुरोध गरेका थिए । मन्त्री जुग्जालीले समुदाय स्तरबाट स्रोत जुटाएर सञ्चालित विद्यालयबाट विपन्न विद्यार्थीहरुको शिक्षामा पहुँच बढाउन सहयोग पुगेकोप्रति धन्यवाद व्यक्त गरे । सो अवसरमा विद्यालयले खाना पकाउन अपनाएको वाष्फीकरण विधिको निरिक्षण पनि गरे ।