जनताको सुख र स्थानीय तहको समृद्धि भावनामा अग्रसर हुन प्रतिष्ठानको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनताको सुख र स्थानीय तहको समृद्धि भावनामा अग्रसर हुन प्रतिष्ठानको आग्रह

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०८०, बुधबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित तारापति भट्टराई स्मृति प्रतिष्ठानले जनताको सुख र स्थानीय तहको समृद्धिको भावनाले निर्देशित हुनेतर्फ अग्रसर हुन स्थानीय तहलाई आग्रह गरेको छ ।

    प्रतिष्ठानले बुधबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत् जिल्लाका दश वटा स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाउँदै कानूनले दिएको अधिकारको प्रयोग गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कानूनबमोजिम आम नागरिकको वृहत्तर हित, जनताको सुख र स्थानीय तहको समृद्धिमा लगाउन आग्रह गरेको हो ।

    प्रशासनिक कार्यमा केही स्थानीय तहहरुमा जनप्रतिनिधिहरुबाट हस्तषेप भएका, कर्मचारीलाई कानूनविपरितका कार्य गर्न दबा दिइएका, प्रचलित कानूनद्वारा गर्न नमिल्ने भनिएको कार्य समेति कार्यपालिकाबाट निर्णय गराई कार्यान्वयन गरिएकाले यस्ता कार्य रोक्न माग गरिएको छ ।

    प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले बुझाएकाे ध्यानाकर्षण पत्रमा स्थानीय तहहरुमा विकास निर्माणका कार्यमा आयोजनाको पूर्व तयारी बिनानै खरिद कारवाही अगाडी बढाउने गरिएको, विस्तृत योजना प्रतिवेदन, निर्माणस्थलको उपलब्धता र वातावरणीय अध्ययन बिना नै योजना कार्यान्वयनमा लैजाने गरेको देखिँदा योजनाको सम्पूर्ण पूर्व तयारी गरेरमात्र योजना कार्यान्वयनमा लैजान आग्रह गरिएको छ ।

    प्रतिष्ठानले स्थानीय तहको सवारी सञ्चालन गर्दा बिदाका दिन र घरायसी प्रयोजनमा प्रयोग नगर्न, अतिथि सत्कारका साथै अन्य अनावश्यक खर्च कटौती गर्न ध्यानाकर्षण गराएको छ ।

    कतिपय स्थानीय सार्वजनिक जग्गा व्यक्तिगत लाभका लागि प्रयोग भएको देखिएको र सरकारी सार्वजनिक जग्गा व्यक्ति वा संस्थाको नाममा समेत गएकाले सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्नका लागि स्थानीय तहले व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ ।

    स्थानीय तहको राजश्वको मूल आधारको रुपमा रहेको ढुङ्गा, गिटी, बालुवा जस्ता नदीजन्य सामग्रीको उपयोग गर्दा अव्यवस्थित उत्खनन्लाई निरुत्साहन गर्न वातावरणीय पक्षको संवेदनशीलतामा ध्यान दिन आग्रह गरिएको छ ।

    तारापति भट्टराई स्मृति प्रतिष्ठान संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भएको संस्था हो । स्वर्गीय तारापति भट्टराईले जीवनमा भए गरेका कार्यको सम्मान गर्दै शिक्षा, स्वास्थ्य र खेलकुदको माध्यमबाट धर्म, संस्कृति, सामाजिक मूल्यमान्यता र आपसी सद्भावको जगेर्ना गर्दै हरेक घरपरिवार, समाज एवं राष्ट्रिय तहसम्मका विकासमा सहयोग पु¥याउने प्रतिष्ठानको उद्धेश्य रहेको जनाइएकाे छ ।