आँधीमूलमा एकादशी मेला भर्न दश हजार भक्तजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आँधीमूलमा एकादशी मेला भर्न दश हजार भक्तजन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा आज एकैदिन दश हजार भक्तजनले पूजाआजा गरेका छन् । आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा एकादशी मेला भर्न दश हजार भक्तजन पुगेका हुन् । त्यसक्रममा २५ भन्दा बढी फूलको तोरण आँधीमूलमा टाँगिएको छ ।

    यहाँ प्रत्येक वर्ष फूलको तोरण तार्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । स्थानीय मनोज बाँस्तोलाका अनुसार तनहुँसहित छिमेकी गोरखा, चितवन, लमजुङका विभिन्न ठाउँबाट भक्तजन आँधीमूल आएका थिए । उनले भने “बिहानैदेखि भक्तजनको आगमन उल्लेख्य रह्यो । यस ठाउँको धार्मिक महत्वका कारण एकादशीमा विशेष मेला लाग्ने गर्दछ ।”

    मनले चिताएको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको उक्त मन्दिरमा एकादशी मेलाका दिन हजारौ भक्तजनको आगमन हुने मन्दिरका पुजारी युवराज मास्की मगरले बताए ।

    आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो । जलदेवताको रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पूजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी मगरले बताए ।

    एकादशीको अवसरमा व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी महादेव मन्दिरमा १७ तोरण तारिएको छ।

    त्यस्तै व्यास नगरपालिकास्थित सेतीमादी सङ्गमस्थलमा फूलको तोरण तारिएको छ । दमौलीस्थित मादीसेतीको दोभानमा विभिन्न ठाउँबाट आएका सर्वसाधारणले फूलको तोरण तारेका छन् ।

    विभिन्न ठाउँबाट ल्याइएको फूलको डोली सहितको तोरण व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारमा तारिएको छ । फूलको डोली सर्वसाधारणले बाजागाजा सहित दमौली ल्याएका थिए । —