


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्रको बहस आवश्यक नै नभएको बताएका छन् ।४८औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले जन्मदै शासक हुने सिद्धान्त पाखण्डी भएको बताए ।
राजतन्त्र सामन्तवादको अवशेष भएको भन्दै उनले यदि कहिँ छ भने राजनीतिक कारणले सम्झौता भएर रहेको हुनसक्ने बताए ।
नेपालमा पनि ०५८ मा भएको दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको टिप्पणी गरे । ‘दरबार हत्याकाण्डकै बेला सकिएको हो । हामीले त्यतिबेला उपयुक्त कदम नचाल्ने कमजोरी गरेको हुनाले अलिक दिन डमी राजतन्त्र चल्यो’, ओलीले भने, ‘त्यसले तमासा देखायो, अनि हटाउनुप¥यो । संविधानसभाले निर्णय गर्यो ।’
कस्तो राजा ल्याउन खोजेको, दलहरुलाई जेलमा हाल्ने एकदम तानाशाह राजा बनाउन खोजेको भन्दा पनि होइन भन्ने गरेको ओलीले सुनाए । ‘संवैधानिक राजा बनाउन खोजेको भन्छन्’, ओलीले भने, ‘सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त । अनि के गर्छ त त्यो राजाले चाहिँ ?’