म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०८०, बुधबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिकाले वडा नम्बर २ मा केन्द्र निर्माण गरी सञ्चालनम ल्याएकाे हाे । स्थानीय तहहरुलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने “अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा बढेको पालिकालाई फोहरमैला व्यवस्थापनमा चुनौती हुँदै आएको थियो । डम्पिङ साइड सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापन धेरै हदसम्म सहज हुन्छ ।”

    गाउँपालिकाको बजार क्षेत्रमा सङ्कलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहरहरु उक्त सङ्कलन तथा व्यवस्थापन केन्द्रमा जम्मा गरिने जनाइएको छ । उपाध्यक्ष घिमिरले फोहर सङ्कलन केन्द्रबाट कुहिने र नकुहिने फोहर छुट्याइने र कुहिने फोहरबाट मल उत्पादन गरिने र नकुहिने फोहरबाट अन्य उत्पादन गरी मोहर बनाइने बताए।

    २२ रोपनी आठ आना जग्गा खरिद गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । गाउँपलिकाले विसं २०७८ चैत ९ गते स्थानीयवासीसँग रु ३३ लाखमा जग्गा खरिद गरेको थियो । जग्गा खरिदलगायत गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माणमा रु दुई करोड १५ लाख खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    फोहरमैला व्यवस्थापन केन्द्रका लागि रु २१ करोडको गुरुयोजना तयार भएको छ । गुरुयोजनाअनुसार केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न बाँकी छ । अधिकारीका अनुसार करिब पाँच हजार घरधुरीबाट फोहरमैला सङ्कलन गरिनेछ । फोहर सङ्कलनका लागि टिपरसमेत खरिद भइसकेको छ । फोहरमैला व्यवस्थापनका लागि सर्वसाधारणसँग न्यूनतम रु एक सय शुल्क लिइने अधिकारीले बताउनुभयो । केन्द्रमा तीनजनालाई रोजगारी दिइएको छ ।

    साप्ताहिक रुपमा सबै वडामा पुगेर फोहरमैला सङ्कलन गरिने जनाइएको छ । छिमेकी पालिका व्यास र शुक्लागण्डकी नगरपालिकासँग समेत रोयल्टी लिएर त्यस ठाउँको फोहर यहाँ व्यवस्थापन गर्न सकिने विषयमा छलफल भएको अधिकारीले बताए।

    गाउँपालिकाको आन्तरिक स्रोतबाट उक्त डम्पिङ साइड निर्माण गरिएको हो । उक्त केन्द्र निर्माणको थालनी विसं २०८० वैशाख ३ गतेदेखि भएको थियो । शुक्लागण्डकी नगरपालिका–४ स्थित लाहुरे काइला बिल्डर्ससँग सम्झौता भई डम्पिङ साइट निर्माण गरिएको हो । गाउँपालिकाले हालै आयोजित गाउँसभाबाट वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, २०८० पारित गरिसकेको छ ।

    जिल्लाका दश स्थानीय तहमध्ये शुक्लागण्डकी नगरपालिकाले मात्रै यस अगाडि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । तर उक्त केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन । तनहुँको स्थानीय तहमा फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइट बनेको छ । जिल्लाका सबैजसो स्थानीय तहलाई फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएको छ । अधिकांश स्थानीय तहले सङ्कलित फोहरमैला नदी किनारमा फाल्दै आएका छन् ।