देवघाटमा मोटरबोट सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा मोटरबोट सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०८०, बिहीबार

    देवघाट । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्र्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभिषण शर्माले जानकारी दिए ।

    उनका अनुसार मोटरबोट छोटो र लामो दूरीमा चलाइएको छ । छोटो दूरीमा देवघाटधामको वेणिसङ्गमबाठ नागकुण्ड, सूर्यकुण्ड, झोलुङ्गे पुल हुँदै तपोवनसम्म मोटरबोटको यात्रा गर्न सकिने छ । छोटो दूरीको शुल्क रु दुई सय ५० तोकिएको छ ।

    यस्तै लामो दूरीमा झण्डै आठ किलोमिटरको यात्रा गराइने छ । वेणिसङ्गमबाट गैँडाकोटको नरसिंह दिव्यधामसम्म लामो दूरीको यात्रा गराइने उनले बताए । लामो दूरीको शुल्क निर्धारणको क्रममा रहेको उहाको भनाइ छ । भरतपुर महानगरपालिकाबाट स्वीकृति लिएर मोटरबोट सञ्चालन गरिएको शर्माले जानकारी दिए ।

    मोटरबोटको क्षमता १० जनाको छ । देवघाटमा चितवनबाट तनहुँतर्फ आवतजावतका लागि डुङ्गा नियमित सञ्चालनामा छन् । जलयात्रामा मनोरञ्जन लिन चाहने धार्मिक पर्यटकलाई केन्द्रित गरेर मोटरबोट सञ्चालन गरिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताए ।

    उनले मोटरबोट सञ्चालनपछि देवघाटमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । मोटरबोटले मौलाकालिका र देवघाटधामलाई जोड्ने पुलको काम गर्ने उहाँको भनाइ छ । देवघाटधाममा दैनिक सयौँ भक्तजन दर्शन र स्नानका लागि आउने गर्छन् ।