दमौली । गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा.केशव पौडेलले तनहुँको व्यास–१ स्थित जलदेवी माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् । तनहुँको व्यास–९ सिस्नेरी घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका पौडेलले विद्यालयका ४० जना अति विपन्न बालबालिकाको लागि न्यानो विद्यालय पोशाक सहयोग गरेका हुन् ।
पौडेलले बिहीबार बिहान विद्यालयमा स्वयं उपस्थित भएर व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बस्नेतलाई सहयोग सामाग्री हस्तान्तरण गरे ।
बढ्दो जाडोका कारण विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको विषयमा विद्यालयका शिक्षक राजु पौडेलले जानकारी गराएपछि आफूले तत्कालै सहयोग गरेको उनले बताए । पौडेलले भोलिका दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “परदेशमा रहे पनि मेरो मन यही छ, मैले यस ठाउँको लागि सक्दो सहयोग गर्नेछु ।”
विगत १२ वर्ष देखि एनआरएनए अभियान्ताको रुपमा गैर आवासीय नेपालीको हकहितका लागि काम गर्दै आएका पौडेलले नेपालमा पनि विभिन्न समयमा प्राकृतिक विपत्तिमा परेकालाई राहत सहयोग गर्नेदेखि शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
छोटो अवधिको जानकारीमा विद्यालयमै उपस्थित भएर सहयोग गरेको भन्दै विद्यालयका प्रधानाध्यापक पिताम्बर सिग्देलले आभार व्यक्त गरे । पूर्ण विद्यालय पोशाकमा विद्यालय आउन नसक्ने अवस्था रहेका विद्यार्थीलाई सहयोगले राहत मिल्ने उनको भनाइ थियो ।
उनका अनुसार उक्त विद्यालयमा आर्थिक विपन्नता भएका तथा दलित समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको छ । परदेशमा रहेर पनि मातृभूमिप्रति पौडेलले देखाएको सेवा भाव र सद्भाव प्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले धन्यवाद व्यक्त गरे ।