भानुमा राष्ट्रपति पौडेलले भने – रोजगारी र आम्दानी नहुँदा गाउँ खाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा राष्ट्रपति पौडेलले भने – रोजगारी र आम्दानी नहुँदा गाउँ खाली

    खबरपुञ्ज संवाददाता

    २० पुष २०८०, शुक्रबार

    दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले गाँउमा विकास र सुविधा पुगे पनि रोजगारी तथा आम्दानी नहुँदा मानिस नबसेको बताएका छन्।

    गाउँमा विकास पुग्न थाले पनि उपभोग गर्ने मानिस कोही नहुने हुन् कि भन्ने चिन्ता देखिएको उनको भनाइ छ।

    तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले गाउँमा बिस्तारै विकास पुगे पनि सम्मानजनक रोजगारीको अवस्था भने नरहेको बताए।

    ‘गाउँमा बिस्तारै सुविधा पुगेको छ। विकास भइरहेका पनि छन् तर सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही नरहने हो कि जस्तो भएको छ,’ उनले भने, ‘गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था नै छैन।’

    राष्ट्रपतिमा निर्वाचित भएपछि दोस्रोपटक गृहजिल्ला आएका राष्ट्रपति पौडेलले आफूले बैदी–छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही विषयमा आज पनि उभिएको स्पष्ट पारे । उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको र अबको शिक्षा पनि यिनै विषयमा केन्द्रित हुनुपर्ने धारणा राखे ।