एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमा उम्मेदवार दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमा उम्मेदवार दिने

    खबरपुञ्ज संवाददाता

    २० पुष २०८०, शुक्रबार

    काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ । लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यही पुस २३ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

    बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बैठकमा सातवटै प्रदेश कमिटीबाट आएका सिफारिसलाई ‘कलस्टर’ अनुसार प्रारम्भिक छलफल गरिएको बताए । एमालेले एक महिलासहित प्रत्येक प्रदेशबाट तीन जनाको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको थियो ।

    “सिफारिस भई आएका उम्मेदवारका नाम कलस्टर अन्तर्गत पर्ने/नपर्ने र प्रमाणित हुने/नहुने भन्ने विषय स्पष्ट भएर यही पुस २३ गते हामीले १९ वटै सिटका लागि उम्मेदवारी दर्ताको तयारी गरेका छौँ”, महासचिव पोखरेलले भने ।

    यसैगरी बैठकले छ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । प्रदेश अधिवेशनपछि निवर्तमान प्रदेश अध्यक्षलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए ।

    महासचिवका अनुसार कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशको रामअवतार यादव, बागमती प्रदेशबाट केशवराज पाण्डे, कर्णाली प्रदेशको विनोद शाह र सुदूरपश्चि प्रदेशको दामोदर भण्डारीलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ ।

    यसैगरी बैठकले लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्लाका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । महासचिव पोखरेलले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका सम्झौता विषयमा सरकारले प्रतिपक्षसँग कुनै पनि परामर्श नगरेका चिन्ता व्यक्त गरेको छ ।

    “भारतसँग के के सम्झौत भए । सत्तापक्षले त्यसको प्रतिपक्षलाई स्पष्ट पारेको छैन”, महासचिवले भने, “भारतसँग के–के विषयमा सम्झौता भएका छन् । ति विषयलाई स्पष्ट पार्न माग गरेका छौँ ।”–––