दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु नियन्त्रणका लागि पूर्व तयारी थालेको छ । गर्मी मौसम सुरु भएसँगै डेङ्गुको प्रकोप बढ्ने भएकाले गाउँपालिकाले डेङ्गु नियन्त्रणका लागि पूर्व तयारी थालेको हो ।
गत गर्मी मौसममा तनहुँ डेङ्गुबाट आक्रान्त बनेको थियो । त्यसबेला तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या करिब सात हजार पुगेको थियो । त्यस्तै डेङ्गुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो ।
आँबुखैरेनी गाउँपालिका डेङ्गुको जोखिममा रहेकाले समयमै नियन्त्रण गर्न आवश्यक रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । गत गर्मी मौसममा आँबुखैरेनीका एक सय भन्दा बढी डेङ्गुबाट सङ्क्रमित भएका थिए ।
विगत लामो समयदेखि आँबुखैरेनी लगायत आसपासका शहर बजारका विभिन्न क्षेत्रहरुमा शीघ्र रुपमा डेङ्गु ज्वरोको सङ्क्रमण फैलिएकाले गाउँपालिकामा यसको नियन्त्रणका लागि पूर्व तयारी सुरु गरिएको उनको भनाइ छ । उनले भने, “डेङ्गुबाट अकल्पनीय रुपमा जनधनको क्षति पुगेको सन्दर्भमा यस वर्ष पनि वर्षात सुरु हुने समय प्रारम्भ हुन लागेकाले समयमै सजगता अपनाउनुपर्ने अवस्था छ । यसका लागि लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी काम समयमा सञ्चालन गरी नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी यस रोगको रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्नुपर्छ ।”
डेङ्गु नियन्त्रणका लागि गाउँपालिकाले छ वटै वडा कार्यालय, आठ वटा स्वास्थ्य संस्था तथा सरोकारवाला निकायलाई खोज र नष्ट गर अभियान सञ्चालन गर्न परिपत्र गरेको छ । उनले भने, “सबै वडा कार्यालय, सङ्घसंस्था, स्वास्थ्य संस्था, सरोकारवाला निकाय र आम जनसमुदायलाई खोज र नष्ट गर अभियान सञ्चालन गर्न अनुरोध गरेका छौ ।” उनका अनुसार यसक्रममा लामखुट्टेको बासस्थान खोजी गरी फूल पार्ने ठाउँ र लाभर्ना नष्ट गर्ने अभियान सञ्चालन गरिनेछ ।
यस अभियानका क्रममा आ–आफ्नो घर वरपर सरसफाई गरी पानी जम्न नदिने, खाडलहरु पुर्ने र टिनका डब्बाहरु, थोत्रा टायरहरु, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिने अभियान सञ्चालन गरिनेछ । त्यस्तै बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घरबाहिर खेतबारी, हाँस, सुङ्गुर, बङ्गुर फार्ममा ननिस्कन आग्रह गरिएको छ ।
गाउँपालिकाले खेतको पानी, नालीमा जमेको पानीमा लामखुट्टेले फूल पारेर आफ्नो सङ्ख्या वृद्धि गर्ने हुँदा त्यस्ता स्थानहरुमा खोज र नष्ट गर अभियान सञ्चालन गर्न अनुरोध गरेको छ । एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दह्रो हुने, वाकवाकी हुने, पखाला लाग्ने समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान आग्रह गरिएको छ ।
गत गर्मी महिनामा डेङ्गु समस्याका रुपमा देखा परेकाले यसको अहिल्यैदेखि नियन्त्रण आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले गत गर्मी महिनाको डेङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्व तयारी थाल्नुपर्ने बताए । उनका अनुसार गत गर्मी मौसममा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गु सङ्क्रमित भएका थिए । कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा थिए ।
एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।
पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाईबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।