व्यास गुफा परिसरमा सन्ध्याकालीन गङ्गा आरती हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास गुफा परिसरमा सन्ध्याकालीन गङ्गा आरती हुने

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०८१, बिहीबार

    दमौली । चार वेद १८ पुराणका रचयिता भगवान् वेद व्यासको जन्मस्थलमा गङ्गा आरती गरिने भएको छ । व्यास गुफा एक पवित्र धार्मिकस्थल भएकाले व्यास भूमि अगाडि रहेको मादी र सेती नदीको तटमा गङ्गा आरती गरिने भएको हो ।

    व्यास गुफा परिसरमा स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आगामी वर्ष २०८२ वैशाख १ गतेबाट सन्ध्याकालीन गङ्गा आरती गर्ने योजनासहित काम भइरहेको व्यास क्षेत्रका प्रमुख संरक्षक एवं शान्ति श्वरुपानन्द दामोदर बाबाले जानकारी दिए ।

    व्यास नगरपालिकामा रहेको पवित्र व्यास गुफा परिसरको अगाडि मादी र सेती गङ्गा तटमा विशेष मञ्च बनाई सन्ध्या गङ्गा आरती गर्ने उनले बताए । उनले भने, “सुरुबाट नै यो योजना नसोचिएको होइन । तर, जग्गाको अभावमा काम अगाडि बढाउन सकिएको थिएन । अब नदीको धार दक्षिणतिर गएकाले तटबन्ध निर्माण गरी सन्ध्याकालीन गङ्गा आरती गर्ने ठाउँ बनाउनेछौँ ।”

    गङ्गा आरतीका लागि मञ्च, भक्तजन रहने स्थान तथा अन्य भौतिक संरचनाका अतिरिक्त नित्य सन्ध्या आरती गर्ने बटुक, सरसामग्रीको आवश्यकता पर्दछ । स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ सन्ध्याकालीन आरतीको व्यवस्था गर्न लागिएको शान्ति स्वरूपानन्द बाबाको भनाइ छ ।