काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् । “सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।
“लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार हो, विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न”, राष्ट्रपति पौडेलले भने। राष्ट्रपति पौडेलले न्याय महसूस हुनुपर्ने पनि बताए। “न्याय, न्याय भनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ”, उनले भने ।
राष्ट्रपति पौडेलले अगाडि भने, “संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्दछ र यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आवद्ध विद्वान कानुन व्यवसायी नै हुन् भन्ने मलाई लाग्छ।”
न्याय आफै हुने वा प्रकट भैहाल्ने कुनै चिज वा वस्तु नभै यो गरिने विषय भएको उल्लेख गर्दै उहाँले यसको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आआफ्नै भूमिका हुने हुँदा बार र बेञ्च बीचमा बेलाबेलामा छलफल र अन्तक्र्रिया हुने गरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गरे।
“न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो”, राष्ट्रपति पौडेलले भने। उनले विभिन्न अभाव र समस्या रहेपनि त्यसको समाधान गर्दै न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई कसरी चुस्त बनाउने भन्ने कुरालाई बारले पनि आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गरे।
“न्याय दिने दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्म मै प्रतिबिम्वित हुनुपर्दछ भन्ने मान्यता बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ”, उनले भने । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एशोसियसनले न्याय कानुनका विषयमा गर्ने महत्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने निष्कर्षले मुलुकमा न्यायपूर्ण एवम् सुशासनयुक्त अवस्था सृजना गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे।
न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथी पनि हुन सक्ने उनकाे भनाइ थियो । “यसका लागि उसको समर्पण र त्याग न्यायका लागि हुनुपर्ने खाँचो छ”, राष्ट्रपति पौडेलले भने।