काठमाडौ । सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज (आइतबार) बैठक बस्ने भएको छ । शनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आइतबार बस्ने तय भएको हो ।
कार्यादेशमा टुङ्गो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बिहान ९ बजे बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए ।