बन्दीपुर केबलकार बिहीबारदेखि व्यावसायिक सञ्चालन,६० प्रतिशत छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार बिहीबारदेखि व्यावसायिक सञ्चालन,६० प्रतिशत छुट

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८१, बुधबार

    दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार जेठ ३१ गते बिहीबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ ।

    वैशाख १ गतेबाट विधिवत रुपमा शुभमुहर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा सञ्चालन हुँदै आएको केबलकार बिहीबारदेखि व्यावसायिक रुपमा सञ्चालन हुन लागेको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केवलकार व्यावसायिक रुपमा सञ्चालन गर्न लागिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

    कम्पनीले सीमित अवधिका लागि केबलकारमा ६० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

    एक वर्ष अगाडी केबलकारको सम्पूर्ण मेकानिकल सामग्रीहरुको जडान गरी भार परीक्षण भइरहेको थियो । तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई कमर्सियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको शर्माले जानकारी दिए ।

    भार परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परिक्षण प्रमाणपत्र, (टियुभी सर्टिफिकेट) प्राप्त भएको शर्माले जानकारी दिए । शर्माले भने, “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्रथामिकता दिएकाले सम्पूर्ण तयारी पूरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेका हौं ।”

    केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिनेछ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गर्ने तयारी भइरहेको छ । यसअघि वर्षको एक दिन महाअष्टमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ ।

    केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान अरोहण गरेझैं साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकारचोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिनेछ ।

    यसअघि नै केबलकारको बटम स्टेशनमा अत्याधुनिक सुविधा सहितको रेष्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरुलाई अन्तराष्ट्रिय स्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्धेश्यले वैशाख १ गते देखि रेष्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आएको हो ।

    त्यस्तै बटम स्टेशनमा जङ्गली म्युजियम, चिल्डे«न जोन, ३३कोटी देविदेवताका मूर्ति सहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिपलाइन, स्काइ साइक्लिङ लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ ।

    बन्दीपुरहिलको कुल लागत रु छ सय २९ करोड मध्ये हालसम्म रु चार सय ३३ करोडको काम सम्पन्न भएको अध्यक्ष शर्माले जानकारी दिए । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका सबै संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँच तारे होटल आगामी पाँच महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।