राष्ट्रिय परिचयपत्रका लागि भीड नगर्न प्रशासन कार्यालय तनहुँकाे आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय परिचयपत्रका लागि भीड नगर्न प्रशासन कार्यालय तनहुँकाे आग्रह

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८१, बुधबार

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि भीडभाड नगरिदिन आग्रह गरेको छ । कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गरी तोकिएको समयभित्रै सबै सेवाग्राहीलाई सेवा प्रवाह गर्ने सम्बन्धमा के गर्न सकिन्छ भनी छलफल र तयारी भइरहेको उल्लेख गरेको छ ।

    प्रशासकीय अधिकृत विकास श्रेष्ठले जारी गरेकाे विज्ञप्तीमा आज सेवा नलिए भोलि सेवा लिन पाइँदैन भन्ने धारणा नराखी सेवा प्राप्त गर्न पर्याप्त समय बाँकी रहेकाले स्वभाविक ढङ्गले सेवा प्राप्त गर्न आउन सर्वसाधारणहरुमा अनुरोध गरिएको छ ।

    साउन महिनाभित्र सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिसक्ने गरी काम भइरहेकाले हतारिएर भीडभाड गर्नुपर्ने अवस्था नरहेको जनाइएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा साविकमा दुई वटा सङ्कलन केन्द्रमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन हुँदै आएकामा हाल तीन वटा सङ्कलन केन्द्र थप गरी जिल्ला प्रशासन कार्यालयमा चार वटा सङ्कलन केन्द्रमार्फत् र देवघाट गाउँपालिकाको केन्द्रबाट एक वटा सङ्कलन केन्द्र समेतबाट गरी पाँच वटा सङ्कलन केन्द्रमार्फत् सेवा प्रवाह भइरहेको जनाइएको छ ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २०८१ साल साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा विवरण सङ्कलनका लागि वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति लगायतको भीड दैनिकजसो बढिरहेको छ ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विवरण सङ्कलनको कार्यलाई सहज बनाउन पालिकागत रुपाम बार निर्धारण गर्ने विषयमा छलफल गरिएको बताए।