दमाैलीमा तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दमाैलीमा तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता हुने

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८१, बुधबार

    दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा दमौलीमा तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । सङ्घले तीन वर्षपछि पुनः जिल्ला लिग फुटबल प्रतियोगिता गर्न लागेको हो । यसअघि सङ्घले विसं २०७८ सालमा जिल्ला लिग आयोजना गरेको थियो ।

    जिल्ला लिग प्रतियोगिता असार ७ गतेदेखि व्यास नगरपालिका–३ स्थित विपी वनवाटिका खेलमैदानमा सञ्चालन सङ्घका अध्यक्ष सत्यभक्त पालिखेले जानकारी दिए ।

    प्रतियोगिता जिल्ला लिग र जिल्ला लिग छनोट गरी दुई चरणमा सञ्चालन हुने उनले बताए । तनहुँ जिल्ला फुटबल सङ्घसँग आबद्ध दश क्लवहरुलाई तनहुँ जिल्ला लिगमा सहभागिताका लागि आह्वान गरिने पालिखेको भनाइ छ । उनका अनुसार दश क्लवमध्ये तनहुँ जिल्ला लिगमा सहभागिता नजनाउने क्लवहरु रेलिगेशनमा पर्नेछन् ।

    तनहुँ जिल्ला फुटबल सङ्घसँग आबद्ध नभएका अन्य क्लवहरुबीच नकआउट आधारमा तनहुँ जिल्ला लिग छनोट फुटबल सञ्चालन गरिने उनले जानकारी दिए । तनहुँ जिल्ला लिगका विजेताले गण्डकी प्रदेश फुटबल सङ्घले आयोजना गर्ने गण्डकी प्रदेश फुटबल लिगमा सहभागिता जनाउन पाउनेछन् ।

    तनहुँ जिल्ला लिग फुटबल प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख नगदका साथै ट्रफी, द्वितीय हुनेलाई रु ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु पाँच हजार, सर्वाधिक गोलकर्तालाई रु तीन हजार, उत्कृष्ट गोलरक्षकलाई रु तीन हजार, उत्कृष्ट मिडफिल्डलाई रु तीन हजार नगद प्रदान गरिनेछ ।

    त्यस्तै तनहुँ जिल्ला लिग छनोट फुटबल प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु दश हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

    दमौली सदरमुकाममा व्यवस्थित खेलमैदान नभएपनि जसोतसो लिग प्रतियोगिता गर्ने निर्णय गरिएको पालिखेको भनाइ छ । उनले भने, “बिपी वनवाटिका खेलमैदानमा केही समस्या आए निर्मल माविको खेलमैदानमा पनि खेल खेलाउने गरी छलफल भएको छ ।”