दमाैली । तनहुँको सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले नियुक्त भएका छन् ।
गण्डकी प्रदेश सरकारको कार्यविधि अनुसार समन्वय समितिका प्रमुख अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका हुन् । प्रदेश सरकारले समन्वय समितिका प्रमुखहरुलाई प्रदेश सरकार मातहतको अस्पतालमा अध्यक्ष बनाउने कार्यविधि बनाएको थियो ।
यसअघिका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले राजिनामा दिएपछि बुधबार अस्पताल व्यवस्थापन समितिले नयाँकार्यसमिति पाएको छ ।
अस्पताल व्यवस्थापन समितिको सदस्यहरुमा व्यास नगरपालिकाकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रमुख कोष नियन्त्रक विनोद भट्टराई, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्र चयन भएका छन् । बुधबार नै बसेको समितिको पहिलो बैठकले महिला सदस्यमा सामाजिक क्षेत्रमा क्रियाशील स्नातक उत्तीर्ण सुशीला शर्मालाई सदस्यमा मनोनित गरेको छ । समितिको सदस्य सचिवमा अस्पतालका प्रमुख डा. परिवर्तन बराल रहेका छन् ।
समितिको बैठकले अस्पताललाई पचास शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष वाग्लेले जानकारी दिए । यसैगरी अस्पतालमा रहेको डायलासिस सेन्टरलाई व्यास नगरपालिकाको कोभिड अस्पतालमा स्थानान्तरण गर्ने विषयमा छलफल भएको उनले बताए । उनले भने, “दुम्सीमा रहेको कोभिड अस्पताल फराकिलो भएका कारण अस्पतालमा रहेको डायलासिस सेन्टर त्यता सार्न सकिन्छ की भनेर छलफल गरेका छौ ।”