सौर्यको आश्वासनपछि परिवारले बुझ्न थाले शव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सौर्यको आश्वासनपछि परिवारले बुझ्न थाले शव

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८१, शनिबार

    काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव परिवारजनले बुझ्न थालेका छन् । बिमा र क्षतिपूर्ति रकम पहिले निर्धारण गर्नुपर्ने अडान राख्दै आएका परिवारजनले सौर्य एयरलाइन्सबाट सक्दो सहयोगको आश्वासन पाएपछि शव बुझ्न थालेका हुन् । 

    पोस्टमार्टम बिहीबार सकेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागले शुक्रबार बिहान शव पहिचान थालेको थियो । पोस्टमार्टम टोलीका नेता फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीले बिहीबार बेलुका नै पोस्टमार्टम सकिएको जानकारी दिँदै शुक्रबार शव पहिचान गरेर आफन्तलाई हस्तान्तरण गर्ने बताएका थिए । त्यसैले शिक्षण अस्पतालको फोरेन्सिक विभाग रहेको भवन अगाडिको प्रांगणमा शुक्रबार बिहानै मृतकका आफन्त भेला हुन थालेका थिए । दिउँसो २ बजे सबै शवको पहिचान सकिएको थियो । परिवारले दिएको लुगा, बोकेका ग्याजेट, शरीरमा रहेको ट्याटु वा चोटपटकको विवरणबाट शव पहिचान गरिएको डा. चौधरीले बताए । उनका अनुसार धेरै जलेका चारवटा शवको पहिचान गर्न भने केही कठिन भएको थियो । ‘परिवारले दिएको विवरणकै आधारमा सबै शवको पहिचान सम्भव भयो । कसैको पनि डीएनए परीक्षण गर्नुपर्ने अवस्था आएन,’ डा. चौधरीले भने ।

    अस्पतालले पहिचान सकिएको सुनाउँदै शव बुझेर लैजान मिल्ने बताउँदासम्म सौर्य एयरलाइन्सले बिमा र क्षतिपूर्तिबारे कुनै निर्णय सुनाएको थिएन । मृतकका आफन्तले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेका अगाडि सौर्य एयरलाइन्सले बिमाका साथै उचित क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान सुनाएका थिए । शवको पहिचान सकिएको जानकारी पाएपछि मृतकका आफन्त तथा एयरलाइन्सका तर्फबाट मार्केटिङ प्रमुख मुकेश खनाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाबीच पटक–पटक छलफल भयो ।

    एयरलाइन्सका मार्केटिङ प्रमुख खनालका अनुसार कम्पनीले आफ्ना सहकर्मीप्रतिको दायित्व वहन गर्न पछाडि नहट्ने प्रतिबद्धता मृतकका परिवारसामु गरेका थिए ।  (इकान्तिपुरबाट)