काठमाडौ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेसँगै जेल बस्नुपर्ने भएको छ। उनलाई आइतबार सर्वोच्चले ९ महिना कैद घोषणा गरेको छ।
उनलाई यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो ।गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्षको कैद सजाय हुने विशेष अदालतको ठहर थियो। तर सर्वोच्चले कैद समय र बिगो घटाएको छ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित उनलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको फैसला केही उल्टीसहित सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार जोशीले ६९ लाख १५ हजार जरिवाना बुझाउनुपर्ने छ ।उनका अनुसार विशेष अदालतले नै जोशीलाई डेढ वर्षको कैद सजाय हुने गरेको फैसलालाई ९ महिनामा झारेको छ। उनलाई अदालतले तत्कालै जेल बस्नुपर्ने बताएको छ।