दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८१, मंगलवार

    दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।

    अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए । अस्पतालमा तनहुँका अतिरिक्त छिमेकी लमजुङका वासिन्दाले समेत स्वास्थ्य सेवा लिएको डा. बरालको भनाइ छ ।

    उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा अस्पतालले ७३ हजार दुई सय ५३ लाई सेवा दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा ६४ हजार पाँच सय ९४ लाई सेवा दिएको थियो ।

    अस्पतालले सोही अवधिमा ३० हजार छ सय ५३ जनालाई प्रयोगशाला सेवा दिएको छ । त्यस्तै दुई हजार नौ सय ५९ जनालाई सर्जिकल सेवा प्रदान गरिएको बरालले जानकारी दिए । त्यस्तै दुई सय ९८ जनालाई सामान्य प्रसुती सेवा र १९ जनालाई शल्यक्रिया प्रसुती सेवा दिइएको बरालको भनाइ छ । डा. बरालले भने, “बढ्दो शहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेकै जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।”

    अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । अस्पतालमा ३१ जना डाक्टर, ३६ जना नर्स, छ जना प्रयोगशालाका कर्मचारी, सात जना प्रशासनका कर्मचारी, १३ जना अन्य प्रविधिक र २२ जना सहायक कार्यरत छन् ।

    पन्ध्र शय्या स्वीकृतीको अस्पतालले हाल पचास शय्यामा सेवा दिइरहेको छ । अस्पताललाई अब पचासदेखि एक सयसम्म शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको डा. बरालको भनाइ छ । त्यस्तै अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरको रुपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको बरालले बताए ।

    अस्पतालको स्तरोन्नतिका लागि जग्गा प्राप्ति बाधक बनिरहेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए । जग्गा प्राप्ति गर्न सकिए अस्पताल स्तरोन्नति हुने भएपनि जग्गाको अभावमा अस्पतालको स्तरोन्नति रोकिएको उनको भनाइ छ ।

    गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्माले जग्गाको समस्याका कारण दमौली अस्पताल स्तरोन्नतिमा ढिलाइ भएको बताए । अन्य केही जिल्लामा जग्गा प्राप्ति भएसँगै भवन निर्माणको काम अगाडी बढेपनि दमौली अस्पतालको मुख्य समस्या भनेकै जग्गा प्राप्ति नहुनु भएको उनको भनाइ थियो ।

    विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।

    अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटर सहित आईसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।