देशका धेरै ठाउँमा वर्षा : काठमाडौ, चितवन, सिन्धुपाल्चोक, बारा र महोत्तरीमा बाढी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशका धेरै ठाउँमा वर्षा : काठमाडौ, चितवन, सिन्धुपाल्चोक, बारा र महोत्तरीमा बाढी

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८१, बुधबार

    काठमाडौ । काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ ।

    पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६ मिलिमिटर तथा महोत्तरीको कालापानी, काठमाण्डौको धापड्याम र सिन्धुलीको रानीचौरीमा १०४ मिलिमिटर पानी परेको छ ।

    लगातार र ठूलो पानी परेको ठाउँमा बाढी आएको छ । चितवन र नवलपरासी पूर्वको नारायणी, बाराको लालबकैया, महोत्तरीको रातो र सिन्धुपाल्चोकको कोशी नदीमा बाढीले सतर्कता तह पार गरेको छ । काठमाण्डौको बाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत नदी खोलामा पनि पानीको सतह खतराको तह आसपास रहेको छ ।

    नदी आसपासका कतिपय बस्तीमा बाढी पसेको छ । डुबान हुने ठाउँहरुमा बस्नेलाई बिहान १० बजेसम्म सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    यस्तै सिन्धुपाल्चोकको ढुङ्गे, बोल्दे, मानेखर्क, बाँसखर्क, धाप, गोब्रे, दुबाचौर, बाउनेपाटी तथा आसपासका वर्षामापन केन्द्रहरुमा पनि ठूलो पानी परिरहेकाले ती क्षेत्र भइ बहने  नदीहरुका  तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    यसैबीच लगातार पानी परेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा बिहान झण्डै एकघण्टा गाडी चलाउन रोक लगाइएको छ । पहिरोको जोखिम भएकाले बिहान साढे ४ बजेदेखि गाडी चलाउन रोक लगाइएको र उज्यालो भएपछि खुलाइएको मुग्लिन प्रहरीले जनाएको छ ।

    पानी परेको बेला राजमार्गमा पहिरोको जोखिम हुने भएकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।