तत्कालिन महिला कार्यालय भवनको काम पुनः सुरु, सामाजिक विकास कार्यालयले प्रयाेग गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तत्कालिन महिला कार्यालय भवनको काम पुनः सुरु, सामाजिक विकास कार्यालयले प्रयाेग गर्ने

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८१, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–३ मा विगत सात वर्षदेखि अलपत्र अवस्थामा रहेको तत्कालिन महिला तथा बालबालिका कार्यालयको भवनको काम पुनः सुरु भएको छ । सङ्घीयता कार्यान्वयसँगै उक्त कार्यालय खारेज भएपछि निर्माणाधीन भवनको काम रोकिएको थियो ।

    अहिले सामाजिक विकास विकास कार्यालय तनहुँले उक्त भवन प्रयोग गर्ने गरी भवनको काम सम्पन्न गराउन पुनः काम सुरु भएको छ । भवनको बाँकी काम सम्पन्न गर्नका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले रु ६५ लाख बजेट विनियोजन गरेको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले जानकारी दिए।

    असोज मसान्तसम्म म्याद थप गरी निर्माण व्यवसायीलाई काममा परिचालन गराइएको सुवेदीले जानकारी दिए। तत्कालिन अवस्थामा गीता मना जेभीले यो भवनको काम गरेको थियो । सार्वजनिक खरिद नियमावलीको संशोधित प्रावधान अनुसार पुरानै ठेक्कामा म्याद थप गरी भवन निर्माण सम्पन्न गराउन लागिएको सुवेदीले जानकारी दिए।

    उनले भने, “यसमा नयाँ ठेक्का गरिएको होइन । साविककै ठेकेदार कम्पनीलाई असोज मसान्तसम्म म्याद थप गरिएको हो । दसैं अगाडी नै काम सम्पन्न गराउँछु भनेर ठेकेदारबाट प्रतिबद्धता आएको छ ।”

    भवनको काम सम्पन्न भएपछि सामाजिक विकास कार्यालयको भवन यहीँ सर्ने सुवेदीले बताए । हाल शिक्षा विकास तथा समन्वय इकाइको भवनमा दुई वटा कोठामा कार्यालय सञ्चालनमा छ । दुई वटा कोठामा काम गर्नुपर्दा समस्या भइरहेको उनकाे भनाइ छ । उनले भने, “निर्माणाधीन भवनमा पर्याप्त कोठाहरु छन् । त्यहाँ सरेपछि कार्यालयको सेवा प्रवाहमा सहजता आउनेछ ।”

    तत्कालिन महिला विकास कार्यालयको भवन लामो समयसम्म अलपत्र परेपछि सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले उक्त भवन गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौता बमोजिम उक्त भवनको हकभोग अधिकार प्रदेश सरकार मातहत आएको थियो ।

    प्रदेश सरकारले सामाजिक विकास कार्यालयको जिल्लामा भवन नभएकाले सो भवन सम्पन्न गराएर कार्यालय सञ्चालन गर्न लागेको सुवेदीले बताए । हाल भवनमा विद्युतीकरण र ग्रिलको काम भइरहेको सुवेदीको भनाइ छ ।

    नौ जनाको दरबन्दी रहेको कार्यालयमा हाल पाँच जना कर्मचारी कार्यरत छन् । कार्यालयमा अधिकृतस्तर आठाै एक, अधिकृतस्तर छैटौ एक, सवइन्जिनियर एक र कार्यालय सहयोगी दुई कार्यरत छन् ।

    कार्यालयले आर्थिक वर्ष २०८०÷८१ चालुतर्फ रु एक करोड ७२ लाख एक हजार बजेटमध्ये रु एक करोड ११ लाख ३३ हजार खर्च गरेको छ । त्यस्तै पुँजीगततर्फ रु छ करोड आठ लाख ५० हजारमध्ये रु चार करोड ३६ लाख ९९ हजार खर्च गरेको छ ।

    कार्यालयले त्यस अवधिमा पुँजीगततर्फ ४१ मध्ये ३३ वटा योजनाको काम सम्पन्न गरेको छ । जसमध्ये प्रदेशतर्फ कुल ३७ योजनामा ३० वटा योजनाको काम सकिएको छ । सङ्घतर्फ कुल चार योजनामध्ये तीन वटा योजनाको काम सम्पन्न भएको छ ।